न्यूयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी सन् २०२६ मा नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अझ तीव्र पारेको दीर्घकालीन तरलता समस्याका कारण यस्तो कदम चालिएको हो। अमेरिकाले बजेट घटाएपछि यसको असर राष्ट्रसंघको बजेटमा परेको बताइएको छ।
संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीका अनुसार संशोधित बजेट तीन अर्ब २३ करोड ८० लाख डलर रहनेछ भने यसले दुई हजार छ सय ८१ रोजगारी कटौती गर्नेछ।
सुरुमा २०२६ को बजेट २०२५ को स्तरमै तीन अर्ब ७० करोड डलर रहने प्रस्ताव गरिएको भए पनि सङ्गठनलाई चुस्त र दक्ष बनाउन गुटेरेसले यसलाई घटाएका हुन्।
मंगलबार सदस्य राष्ट्रहरू र कर्मचारीलाई पठाइएको पत्रमा महासचिवले १५ प्रतिशतभन्दा बढी कटौती अर्थात करिब ५० करोड डलर बराबर र संयुक्त राष्ट्रसङ्घको कार्यबलमा १९ प्रतिशत कमी हुने बताएका छन्।
यसले शान्ति–सुरक्षा, मानव अधिकार र दिगो विकासजस्ता तीन प्रमुख स्तम्भमा असर पार्नेछ । तर अल्पविकसित राष्ट्रका कार्यक्रमहरू जोगाइने गुटेरेसले आश्वासन दिएका छन्।
उनका अनुसार केहीका लागि यसले परिवारसहित स्थानान्तरण, अरूका लागि कार्य–रिपोर्टिङ लाइनमा परिवर्तन र कतिपयका लागि सेवाबाट अलग हुने अर्थ राख्छ ।
जेनेभा र न्युयोर्कका कम्तीमा दुई सय कर्मचारीलाई नैरोबीजस्ता कम खर्चिला सहरमा स्थानान्तरण गरिने भएको छ। प्रस्तावित बजेटलाई महासभामा यसै वर्षको अन्त्यमा मतदानका लागि पेस गरिने भएको छ।
संयुक्त राष्ट्रसङ्घ वर्षौंदेखि सदस्य राष्ट्रहरूको असमय वा अपूरा योगदानका कारण वित्तीय समस्यामा परेको छ।
अमेरिकाले सामान्यतया नियमित बजेटको २२ प्रतिशत योगदान गर्दै आएको भए पनि जनवरीको अन्त्यसम्म वासिङ्टनले एक अर्ब ५० करोड डलर बक्यौता बनाएको थियो । ट्रम्प सत्तामा फर्केपछि अमेरिकाले अझै केही पनि भुक्तानी गरेको छैन।
भविष्यको अमेरिकी योगदान अनिश्चित बनेको छ। अमेरिकाले पहिले नै धेरै संयुक्त राष्ट्र एजेन्सीहरू छोडिसकेको छ र कङ्ग्रेसले जुलाईमा स्वीकृत कोषसमेत रद्द गरिसकेको छ।एएफपी
आर्थिकन्यूज