काठमाडौं । जेनजीहरुले थापाथलीमा रहेका गाडीका शोरुमहरु आगजनी गर्दा सीजी मोटर्सले ठुलो क्षति व्यहोर्नु परेको छ । ४ वटा ब्राण्डको शोरुम एकैपटक जलेर ध्वस्त हुँदा सीजीलाई करोडौँ रुपैयाँको क्षति पुगेको हो ।
उसो त हालसम्म क्षतिको विवरण आएको छैन । थापाथली चोकसँगै सीजीले गत वर्ष नयाँ भवन बनाएर शोरुम स्थापना गरेको थियो । माइतीघरबाट थापाथलीतिर जाँदा थापाथली चोक नजिक बायाँ पट्टी सीजीले विभिन्न ४ मोडलका गाडीहरू शुरूमा स्थापनका लागि २ तले भवन बनाएको थियो ।
जेनजीहरुले आगजनी गरेपछि सो भवन पूर्णरुपमा ध्वस्त भएको छ । भवनसँगै त्यहाँ रहेका दर्जन बढी गाडीहरू पनि जलेर नष्ट भएका छन् । शोरुमको माथिपट्टि अफिस थियो । सो अफिसमा भएको सबै सामानहरू जलेर नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले आर्थिक न्यूजलाई जानकारी दिए ।
उसो त, सो भवन र त्यहाँ जलेका सबै गाडीहरूको बीमा भने भएको छ । बीमाले क्षतिमा केही राहत देला भन्ने आशा उनले व्यक्त गरे ।
बीमा कम्पनीहरूबाट सर्भेयरहरु आएर क्षतिको अवलोकन गरिरहेका छन् । फरक फरक कम्पनीहरुमा बीमा गरिएकाले सर्भेयरहरु आउने हेर्ने काम भइरहेको उनले बताए । सीईओ शिवाकोटिका अनुसार सो भवनमा जीएसी, एक्सपेङ, अवतार र स्मार्ट ब्राण्डका गाडीको शोरुम थियो ।
शोरुममा रहेका सबै गाडी, अफिसका सामान मात्रै होइनन्, बिक्री गरिसकेको गाडीको फाइलसमेत जलेर नष्ट भएको उनी बताउँछन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनाल र अर्थ सचिव घनश्याम उपाध्याय थापाथलीको जलेका शोरुमको अवलोकन गर्न गएका थिए । आगलागीपछि श्रृजित समस्याको बारेमा अटो व्यवसायीहरूले अर्थमन्त्री र सचिवलाई जानकारी पनि गराएका थिए ।
सीईओ शिवाकोटिका अनुसार बिक्री भइसकेका करिब ३०० वटा गाडीको फाइल जलेका छन् । गाडी पास गर्नका लागि कुनै हस्ताक्षर गर्न बाँकी रहेका ३०० फाइल जलेको उनको भनाई छ । यसबारे उनले अर्थमन्त्री र सचिवलाई अवगत गराएका छन् ।
आर्थिक न्यूजसँग उनले भने, 'बिक्री भइसकेको गाडीको यातायातको हाकिमको हस्ताक्षर हुना बाँकी रहेको करिब ३०० फाइल जलेर नष्ट भयो । गाडी बिक्रीपछि नामसारीका लागि यातायातमा गएका थियौँ । हाकिमको सिग्नेचर गर्न बाँकी भएर फाइल अफिसमा राखेका थियौँ । गाडी ग्राहकसँग छ ।’
त्यो फाइलको सट्टामा कपि डकुमेन्ट बनाउन पनि नसकिने अवस्था रहेको छ । कपि डकुमेन्ट बनाउनका लागि ट्राफिकको सिफारिस चाहिन्छ । आगजनीबाट ट्राफिक प्रहरीको पनि अफिसहरू जलेर ध्वस्त भएको अवस्था छ । यस अवस्था ट्राफिकले पनि सिफारिस गर्न नसकिने जानकारी गराएको उनले बताए ।
यस अवस्थामा बिक्री गरिसकेको ३०० गाडीको नमसारी गर्न नसकिरहेको अवस्था श्रृजना भएको सीईओ शिवाकोटीको भनाई छ । यस अवस्थामा यातायात व्यवस्था विभागले आवश्यक सहजता खरिदिनुपर्ने उनले माग राखे ।

सरकारसँगको अपेक्षा
आगजनी र तोडफोडले गर्दा शोरुम नै पुननिर्माण गर्नुपर्ने अवस्था आएकाले हाल व्यवसाय सञ्चालनका लागि सरकारले विशेष आर्थिक प्याकेज ल्याउनु पर्ने उनले बताए । यसैगरी, नेपाल राष्ट्र बैंकले रि-फाइनान्सको सुविधा पनि दिनुपर्ने । बीमा कम्पनीहरूले दाबी वापतको रकम समयमा भुक्तानी गराउनका लागि सरकारले अभिभावकको भुमिका खेल्नुपर्ने उनले माग राखेका छन् ।
यसैगरी, लोन टु भ्यालु रेसियोलाई ६० प्रतिशतबाट ८० प्रतिशत पुर्याउनु पर्ने, सार्वजनिक विदाको दिन या शनिबार पनि भन्सार नाकाहरू खुल्ला गरिनुपर्ने माग रहेको उनले बताए ।
उनले अर्थमन्त्री र सचिवकै अगाडि यी मागहरु राखेका थिए । लगतै सचिव उपाध्यायले भन्सार विभागका डीजीलाई फोन गरेर सार्वजनिक विदाको दिन र शनिबार पनि भन्सार नाका खुला गर्न निर्देशन दिएका थिए ।
कर्मचारीहरूलाई आलोपालो काममा लगाएर उक्त दिन पनि नाका खुला गर्न सचिव उपाध्यायले निर्देशन दिएका हुन् । सचिव उपाध्याय राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पनि हुन् । उनले राष्ट्र बैंकबाट गर्नुपर्ने सहयोगका लागि आफुले समन्वयकारी भुमिका खेल्ने बताएका थिए ।
लक्ष्मण लम्साल