शीर्षकहरू

वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि एकैदिन ९० अर्ब खिच्दै केन्द्रिय बैंक

वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि एकैदिन ९० अर्ब खिच्दै केन्द्रिय बैंक

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । केन्द्रीय बैंकले आज फेरि थप ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । यसअघि विभिन्न मितिमा खिचेको एक खर्ब बढी तरलता परिपक्क भएकाले केन्द्रीय बैंकले एकैपटक ठूलो रकम खिच्न लागेको हो । 

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । 

चालु आर्थिक वर्षको २ महिनाको अवधिमा राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट ४ खर्ब ७४ अर्ब ३५ करोड तरलता प्रशोचन गरिसकेको छ । 

निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले १० दिनको लागि थप ९० अर्ब निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ । 

गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।