काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षका चाडपर्वमा खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । विगतमा हरेक वर्ष दशैँ अघि खसी तथा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएको कम्पनीले यस वर्ष भने बिक्री नगर्ने निर्णय गरेको हो ।
जेनजीको प्रदर्शनमा श्रृजित विषम परिस्थितिका कारण खसी, च्याङ्ग्रा काठमाडौँ ल्याउन समस्या भएको भन्दै खाद्यले यस वर्ष बिक्री नगर्ने भएको हो । कम्पनीले १५ सय वटा खसी र ३ सय वटा च्याङ्ग्रा काठमाडौँ ल्याएर बिक्री गर्ने तयारी थालेको थियो ।
जसका लागि अनलाईन बुकिङ समेत खुलाएको थियो । सोही बीच गत भदौ २३ गतेदेखि जेनजीहरुले देशव्यपीरुपमा प्रदर्शन गरेका थिए । जले ठुलो धनजनको क्षतिका साथै सत्ता नै परिवर्तन भएको थियो । देशभर तोडफोड तथा आगजनी गरिएको थियो । यसले गर्दा खसी च्याङ्ग्रा आयातमा समस्या भएको कम्पनीले जनाएको छ ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्त पौडेलका अनुसार खसी च्याङ्ग्रा खरिदका लागि सम्बन्धीत पालिकाहरुसँग समन्वयन गर्नुपर्ने हुन्छ । 'पालिकाहरुले संकलन गरेपछि मात्र कम्पनीले खरिद गरेर ल्याउँछ । तर, जेनजीको प्रदर्शनले गर्दा काठमाडौँको अवस्थ सामान्य बन्ने हो कि होइन भन्ने दुविधा उत्पन्न भएको भयो,' उनले भने, 'यस अवस्थमा खसी ल्याएर बिक्री गर्न कठिन हुने अनुमान गरिएको थियो । त्यसैले पालिकाहरुसँग पनि समन्वयन गरिएन । पछि अवस्था ठिकठाक भयो तर, हामीले संकलनका लागि पालिकालाई निर्णय दिन सकेनौँ । त्यसकाराण यस वर्ष खसी च्याङ्ग्रा नल्याउने निर्णय भएको हो ।’
उसो त, कम्पनी जति सकिन्छ त्यति नै ल्याएर बिक्री गर्ने पनि सोच बनाएको थियो । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भइरहेको थियो । मन्त्रालयले पनि यस वर्ष नल्याउने सोच बनाएपछि खाद्यले सोही अनुसार खसी च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।
खसी च्याङ्ग्रा खरिद गर्ने ग्राहक तथा उपभोक्ताका लागि कम्पनीले अनलाइन अग्रिम बुकिङको पनि व्यवस्था गरेको थियो । त्यसका लागि बुकिङ वेबसाइट ने तयार गरेको थियो । अनलाइनबाट २४ वटा खसी तथा च्याङ्ग्राहरु ग्राहकले बुकिङ पनि गरिसकेका छन् । बुकिङ गर्दा च्याङ्ग्राको हकमा ४ हजार र खसीको हकमा ५ हजार अग्रिम डिपोजिट पनि गर्नुपर्ने हुन्छ । पौडललका अनुसार यसरी अग्रिम डिपोजिट गरेका ग्राहकको रकम जुन खाताबाट आएको थियो सोही खातामा फिर्ता हुनेछ । यसका लागि कम्पनीले सूचना पनि जारी गर्ने उनले जानकारी दिए ।
खाद्यले सुपथ मूल्य पसल भने यस वर्ष पनि सञ्चालन गरिरहेको छ । देशभर १११ स्थानमा सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गरेको हो । काठमाडौँको रामशाह पथ, थापाथली, ललितपुरको नख्खु लगायतको स्थानमा कम्पनीले खाद्य बस्तुहरु सुपथ मूल्यमा बिक्री वितरणका लागि पसल सञ्चालन गरेको छ । जहाँ १० रूपैयाँसम्म छुट पाउन सकिन्छ ।
आर्थिकन्यूज