काठमाडौ। जेनजी प्रदर्शनपछि खुलको शेयर बजार ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्थगित भएको छ । नेप्सेमा तेस्रोपटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । नेप्से सूचक १६०.३३ अंकले घटेर २५११.९१ अंकमा झरेको छ ।
विहीबार बजार खुलेको पहिलो ३ मिनेट नपुग्दै नेप्सेमा पहिलो नेगेटिभ सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा एक मिनेट कारोबार नहुँदै थप एक प्रतिशत अर्थात ५ प्रतिशतले घटेपछि बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको थियो । दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि शेयर कारोबार ४० मिनेटलाई बन्द गरिएको थियो ।
दोस्रो सर्किट ब्रेकपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार पनि थप एक प्रतिशतले ओरालो लाग्यो । योसँगै नेप्से समग्रमा ६ प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार स्थगित भएको हो । अब शेयर बजार असोज ५ गते आइतबार खुल्नेछ ।
जेनजी प्रर्दशनका क्रमा देशभर विध्वंश मच्चिँदा सरकारी तथा निजी क्षेत्रले ठूलो नोक्सानी व्योहोर्नु परेको छ । यसमा शेयर बजारका लगानीकर्ताहरु पनि परेका छन्।
लगानीकर्ताहरुको निजी सम्पत्ति तथा यवसायमा आक्रमण हुँदा त्यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।
देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बीमा कम्पनीहरुको शेयर प्रभावित भएको छ भने नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् । यसले पनि लगानीकर्ता प्यानिक भएका हुन ।
बजार खुलेका ३ मिनेट नपुग्दै ४ प्रतिशतले नेप्से घटेपछि शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको गरिएको थियो । त्यसपछि खुलेको बजार थप एक प्रतिशत अर्थात ५ प्रतिशतले घटेपछि दोस्रो पटक कारोबार स्थगित भएको छ ।
बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।
जेनजी प्रदर्शनका कारण शेयर बजार गत भदौ २४ गतेदेखि बन्द रहेको थियो ।
आर्थिकन्यूज