शीर्षकहरू

जेनजी प्रदर्शन : निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

जेनजी प्रदर्शन : निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा एक हजार ९८४ संख्यामा बीमा दाबी परेको थियो । 

गत भदौ २३ र २४ गते भष्ट्राचार विरुद्ध जेनजीले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका क्रममा सरकारी भवन, निजी भवन, उद्योग, गोदाम, सवारी साधन लगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति भएको थियो । मुलुक भर भएको प्रदर्शनमा भौतिक संरचनामा आगजनी हुनुका साथै तोडफोडमा भएका छन् । 

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक मात्रै भएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए । उनका अनुसार आगामी दिनमा यो तथ्यांक वृद्धि हुन सक्नेछ । तर, सर्भेयरले क्षतिको मूल्यांकन गरेपछि मात्रै वास्तविक दाबीको विवरण आउने उनले बताए । ‘अहिले परेको दाबी रकम र संख्या बीमितले दिएको तथ्यांक हो । सबै अवस्थामा बीमितले दिएका दाबी भुक्तानी योग्य हुँदैनन । उनीहरुले अनुमान गरे अनुसारको क्षति पनि भएको हुँदैन,’ उनले भने । त्यसैले वास्तविक दाबीको लागि सर्भेयरको प्रतिवेदन नै पर्खनुपर्छ । 

प्राधिकरणले गत भदौ ३१ गतेसम्म संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा ठूलो रकमको दाबी परेको छ । संख्याको आधारमा थोरै भएपनि दाबी रकम भने सबैभन्दा धेरै देखिएको छ । जेनजी प्रदर्शनका क्रममा धेरै क्षति पुगेको मध्ये काठमाडौं नक्साल स्थित हिल्टन होटलको बीमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले गरेको कारण ठूलो दाबी रकम देखिएको हो । कम्पनीमा ४० वटा पोलिसी बापत पाँच अर्ब १४ करोड ९६ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

यस्तै, ठूलो रकमको दाबी पर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो कम्पनी परेको छ । जेनजी प्रदर्शनका क्रममा भएका धेरै क्षति भएको भाटभटेनीको बीमा सिद्धार्थ इन्स्योरेन्समा पनि भएका कारण यस कम्पनीमा दाबी रकम ठूलो देखिएको हो । प्राधिकरणको तथ्यांक अनुसार यस कम्पनीमा २५८ वटा पोलिसी बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

ठूलो रकमको दाबी पर्नेमा शिखर इन्स्योरेन्स तेस्रोमा परेको छ । यस कम्पनीमा ३६६ वटा पोलिसी बापत दुई अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ । 

तर, दाबी संख्याको आधारमा भने शिखर इन्स्योरेन्स पहिलो कम्पनीका बनेको छ । दोस्रोमा सिद्धार्थ र तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी परेको छ ।

नेपाल इन्स्योरेन्स ७९ वटा पोलिसी बापत ४६ करोड ९४ लाख रुपैयाँ बीमा दाबी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा पोलिसी बापत ४९ करोड ५१ लाख रुपैयाँ बीमा दाबी परेको छ भने नेशनल इन्स्योरेन्स १९ वटा पोलिसी बापत ६ करोड ८२ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

यस्तै, नेको इन्स्योरेन्स ४० वटा पोलिसी बापत एक अर्ब ९ करोड ५३ लाख रुपैयाँ बीमा दाबी परेको छ । प्रभु इन्स्योरेन्स ६९ वटा पोलिसी बापत १९ करोड १८ लाख रुपैयाँ बीमा दाबी परेको छ । एनएलजी इन्स्योरेन्स १५१ वटा पोलिसी बापत ३८ करोड ५८ लाख रुपैयाँ बीमा दाबी परेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स १९६ वटा पोलिसी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

सानिमा जिआईसी इन्स्योरेन्स १२९ वटा पोलिसी बापत ७८ करोड ९३ लाख रुपैयाँ बीमा दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स २३३ वटा पोलिसी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बीमा दाबी परेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स २४ वटा पोलिसी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा दाबी परेको छ । यस्तै, युनाईटेड अजोड १७० वटा पोलिसी बापत ४८ करोड ७४ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

माईक्रो इन्स्योरन्समा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ९ वटा पोलिसी बापत एक करोड १३ लाख रुपैयाँ बीमा दाबी परेको छ । माईक्रो इन्स्योरेन्समध्ये प्रोटेक्टिभ परेको दाबी रकम सबैभन्दा ठूलो हो । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स १५ वटा पोलिसी बापत ५६ लाख ३६ हजार रुपैयाँ बीमा दाबी परेको छ । स्टार माइक्रो इन्स्योरेन्स ६ वटा पोलिसी बापत ६७ लाख ७ हजार रुपैयाँ बीमा दाबी परेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्स ८ वटा पोलिसी बापत ४२ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

बीमा दाबीको ६५ प्रतिशत दायित्व पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट उत्पन्न बीमा दाबीको ६५ प्रतिशत बीमा दाबी रकम नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । हुलदंगा तथा आतंकबाद जोखिम बीमा पुल अनुसार प्रति घटना १० करोड रूपैयाँसम्मको बीमा दाबीमा ६५ प्रतिशत बीमा रकम नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने व्यवस्था छ ।

अर्थात् हुलदंगा तथा आतंकबाद जस्ता घटनाबाट सृजना भएको क्षतिको सुरक्षणका लागि बीमा कम्पनीलहरुले नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य रुपमा पुनर्बीमा गनुपर्नेछ । यसरी पुनर्बीमा गर्दा कम्पनीहरुले निश्चित प्रतिशत आफुले रिटेन गरेका हुन्छन् । हुलदंगा तथा आतंकबाद जोखिमपूर्ण बीमाको हकमा १० करोड रुपैयाँसम्मको दाबीमा ३५ प्रतिशत रकम बीमा कम्पनीले नै भुक्तानी गर्ने व्यवस्था छ । जसअनुसार कम्पनीमा परेको दाबी सबै रकम बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने छैन । 

यस्तै, १० करोड भन्दा माथि ६ अर्ब रुपैयाँसम्मको दाबीमा बीमा कम्पनी आफैले सतप्रतिशत दाबी भुक्तानी गर्नुपर्नेछ । तर, नेपाल पुनर्बीमा कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्ने भएकोले नेपाल पुनर्बीमा कम्पनीले भने विदेशी कम्पनीबाट भुक्तानी पाउँनेछ । तर, १० करोड रुपैयाँ भन्दा माथिको दाबी एकाध मात्रै हुन सक्ने पुनर्बीमा कम्पनीको अनुमान छ । 

गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीमा एक अर्ब १३ करोड दाबी

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीमा १५९ वटा दाबी परेको थियो । 

प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । कम्पनीमा ९ वटा पोलिसीको ५० करोड दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा ५० वटा पोलिसी बापत ३५ करोड रुपैयाँको दाबी परको तथ्यांक छ । 

राष्ट्रिय बीमा कम्पनीमा २० वटा पोलिसी बापत सात करोड रुपैयाँको दाबी परेको छ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीमा ६ वटा पोलिसी बापत दुई करोडको दाबी परेको छ । 

ओरियण्टल इन्स्योरेन्स कम्पनीमा १३ वटा पोलिसीको तीन करोड रुपैयाँ दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा १६ वटा पोलिसी बराबर चार करोड ४५ लाख रुपैयाँको दाबी परकेो छ । 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ वटा पोलिसीको तीन करोड १५ लाख रुपैयाँ दाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा ५ वटा पोलिसीको ७५ लाख दाबी परेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा ६ वटा दाबीको ८० लाख रुपैयाँ दाबी परेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा पोलिसीको पाँच करोडको दाबी परेको छ । 

सानिमा जिआईसी इन्स्योरेन्समा ११ वटा पोलिसीको दुई करोड दाबी परेको छ । नेपाल माइक्रोको इन्स्योरेन्सको ५ वटा पोलिसी २५ लाख दाबी परेको छ । 

तर, नेपाल इन्स्योरेन्स, नेशनल र प्रभु इन्स्योरेन्स कम्पनीमा हालसम्म कुनै पनि दाबी परेको छ । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्समा दाबी नपरेको प्राधिकरणले जनाएको छ । 

null