शीर्षकहरू

विदाको दिन पनि खुल्न थाले भन्सार कार्यालयहरू, नाइमा र नाडाले गरेका थिए पहल

विदाको दिन पनि खुल्न थाले भन्सार कार्यालयहरू, नाइमा र नाडाले गरेका थिए पहल

काठमाडौं । अटोमोबाइल व्यवसायीको पहलपछि शनिबार तथा सार्वजनिक विदाको दिन पनि भन्सार कार्यालयहरू खुल्न थालेका छन् । नाडा अटोमोबाइल एशोसिएशन नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्यक्सरर्स एशोसिएसन (नाइमा)को पहलपछि विदाको दिन पनि भन्सार कार्यालयहरू खुला हुन थालेका हुन्। 

अटोमोबाइल व्यवसायीहरूको उक्त दुई संस्था नाडा र नाइमाले चाडपर्वलाई लक्षित गरेर विदाको दिन पनि भन्सार कार्यालयहरू खुला गर्नुपर्ने माग राखेको थियो । उक्त संघमा आबद्ध पदाधिकारीहरूले अर्थमन्त्रीलाई मन्त्रालयमा नै गएर विदाको दिन पनि कार्यालय खोलेर जाँच पास गरिदिनुपर्ने माग राखेका थिए । 

दशैं तथा चाडपर्वको समयमा आयात अधिक हुने भएकाले भन्सार नाकामा चाप पर्ने र सामान रोकिने सम्भावना रहेको हुँदा विदाको दिन पनि खुला गर्न व्यवसायीहरूले अनुरोध गरेका थिए । गत असार २३ गते भोटेकोशीमा आएको बाढीले रसुवा र चाइना जोडिने पुल नै बगाएको थियो । त्यसपछि सो नाका बन्द रहेको छ । यसैगरी, तातोपानी तर्फ पनि पहिरोले बेला बेला अवरुद्ध गर्ने गरेको छ । यसैगरी, जेनजीको प्रदर्शनले पनि केही दिन नाका पुरै ठप्प नै भयो । जसले गर्दा दशैं अघि नै काठमाडौँमा ल्याउनुपर्ने धेरै गाडीहरु भन्सारमै रोकिएको अवस्था छ । 

यसका साथै दशैंका लागि सामान बोकेर आएका सयौं मालबाहक ट्रकहरू भन्सारमा नै रहेका छन्। यस अवस्थामा शनिबार तथा विदाको दिन पनि कार्यालय खुलेमा ति सामानहरू दशैँअघि नै काठमाडौँ आइपुग्न व्यवसायीहरूको भनाई छ । 

भदौ ३१ गते मंगलबार अर्थमन्त्री रामेश्वर खनाल र अर्थ सचिव घनश्याम उपाध्याय थापाथली स्थित आगजनीबाट ध्वस्त गाडीका शोरुमहरुको अवलोकन गर्न पुगेका थिए । जेनजीको आगजनीपछि जलेर ध्वस्त भएको शोरुमहरुको अवलोकनका क्रममा नाडा र नाइमाका पदाधिकारीहरु पनि उपस्थित थिए । सोही क्रममा सीजी मोटर्सका सीईओ कपिल शिवाकोटीले मन्त्री तथा सचिवलाई विदानको दिन पनि नाका खुलाउन अनुरोध गरेका थिए । अर्थ सचिव उपाध्यायले सोही स्थानबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई फोन गरेर विदाको दिन पनि भन्सार कार्यालय खुलाउन निर्देशन दिएका थिए । 

सचिवको निर्देशनपछि भन्सार विभागका महानिर्देशक भण्डारीले सबै कार्यालयका प्रमुखहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेका थिए । सोही छलफलबाट उनले विदाको दिन पनि कार्यालय खुलाउन सबै कार्यालयलाई निर्देशन दिएका थिए । 

डीजीको निर्देशनपछि विदाको दिन पनि कार्यालय खुला हुन थालेको विभागका सूचना अधिकारी किशोर बर्ताैलाले जानकारी दिए । हिजो असोज १ गते सरकारले शोक दिवस मनाउने भन्दै सार्वजनिक विदा दिएको थियो । तर, भन्सार कार्यालयहरु १ गतेपनि खुलेको उनले बताए । उनले भने, 'सचिव तथा मन्त्रीज्यूको निर्देशनपछि डीजीसापले पनि कार्यालयलाई निर्देशन दिनुभयो । असोज एक गतेदेखि नै विदाको दिन पनि कार्यालय खुल्ने निर्देशन कार्यान्वयन भएको छ ।’

छठटसम्म नै सार्वजनिक विदाको दिन कार्यालय सञ्चालन हुने उनले जनाए । हाललाई आलोपालको व्यवस्था नगरी शनिबार पनि सबै कर्मचारीहरू अनिवार्य कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको उनले बताए । दशैं पछि आलोपालो सिस्टम लागु हुन सक्ने उनको भनाई छ ।