शीर्षकहरू

विदेशी लगानी प्रतिबद्धता झण्डै १५५ प्रतिशतले वृद्धि, दुई महिनामा ३३ अर्ब प्राप्त

प्रतिबद्धता अनुसारको आँउदैन् लगानी

विदेशी लगानी प्रतिबद्धता झण्डै १५५ प्रतिशतले वृद्धि, दुई महिनामा ३३ अर्ब प्राप्त

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३३ अर्ब ९ करोड २० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको दुई महिनाको तुलनामा झण्डै १५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष साउन र भदौमा १२ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

चालु आर्थिक वर्षको साउनमा २४ अर्ब १० करोड ४९ लाख र भदौमा ८ अर्ब ९८ करोड ७० लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको उद्योगका विभागले जनाएको छ।

उद्योग विभागका अनुसार भदौसम्ममा विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ३१ अर्ब ७२ करोड तथा स्वचालित प्रणालीबाट १ अर्ब ३६ करोड गरी कुल ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने व्यवस्था रहेको छ । यस अवधिमा २३६ उद्योगका लागि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो ।

२३६ उद्योगका लागि एफडीआई, झण्डै ३४ हजार रोजगारी सृजना हुने 

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ९२ तथा स्वचालित प्रणालीबाट १४३ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो । दुई महिनाको अवधिमा २२५ वटा साना उद्योग, ४ वटा मध्यम र ७ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप ३३ हजार ८१४ जनाले रोजगारी पाउनेछन् ।

यस्तै, चालु आवको दुई महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत १७ उद्योगका लागि २ अर्ब ५० रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै १२ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार हालसम्म ७ हजार ४७५ उद्योगका लागि कुल ६ खर्ब ८४ अर्ब ५१ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ७३३ उद्योगका लागि १४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ७४२ उद्योगका लागि ६ खर्ब ७० अर्ब ४१ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ५९ हजार १८१ रोजगारी सिर्जना हुने विभागको भनाइ छ । 

विदेशी लगानीकर्ताको रोजाईमा सूचना तथा प्रविध र पर्यटन उद्योग

पछिल्लो समयमा विदेशी लगानीकर्ताको रोजाईमा सूचना तथा प्रविध र पर्यटन उद्योग पर्ने गरेको छ । दुई महिनामा कुल २३६ उद्योगका लागि प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना तथा प्रविध क्षेत्रमा छ । सूचना तथा प्रविधि ५१ प्रतिशत, पर्यटनका उद्योगमा ३४ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ५, कृषिमा ४ प्रतिशत लगानी प्रतिबद्धता आएको छ। 

विभागका अनुसार पर्यटन क्षेत्रका ७९ उद्योगका लागि ६ अर्ब ६९ करोड आएको छ । रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी प्राप्त भएको हो । सूचना प्रविधि क्षेत्रका १२० वटा उद्योगहरुका लागि ५६ करोड २७ लाख बराबरको लगानी प्रतिवद्धता आएको हो।

यस्तै, सेवा क्षेत्रका १५ वटा उद्योगका लागि २ अर्ब ८१ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । उत्पादन क्षेत्रका १२ वटा उद्योगका लागि १ अर्ब २४ करोड रुपैयाँ, कृषिका ९ वटा उद्योगका लागि २१ अर्ब ५९ करोड ८० लाख तथा पूर्वाधार क्षेत्रको एक उद्योगका लागि १८ करोड ४२ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

भदौमा आयो करिब ९ अर्ब लगानीको प्रतिबद्धता

चालु आवको दोस्रो महिना भदौमा मात्रै ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार १०९ वटा उद्योगका लागि सो लगानी प्रतिबद्धता आएको हो । भदौमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ६२ उद्योगमा ६३ करोड ७५ लाख रुपैयाँ र अप्रुभल रुटबाट ४७ उद्योगमा ८ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

२ अर्ब ९० करोड रोयल्टी फिर्ता 

चालु आवको २ महिनाको अवधिमा विदेशी लगानीकर्ताले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति पाएका छन । रोयल्टीबापत १० लाख ९९९ अमेरिकी डलर तथा १९ लाख १७ हजार  भारतिय रुपैयाँ बराबरको रकम बाहिर लैजान स्वीकृत गरिएको विभागले जनाएको छ । 

यस्तै, चालु आर्थिक वर्षको २ महिनामा विभागले ४ सय भन्दा धेरैलाई बिजनेस भिसा सिफारिस गरेको छ । विभागले ४०९ लगानीकर्ता, ६० प्रतिनिधि र डिपेन्डेन्टतर्फ १०७  बिजनेस भिसा सिफारिस गरेको छ।

प्रतिबद्धता अनुसारको आँउदैन् लगानी 

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा विदेशी लगानीकर्ताहरुले ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका थिए । तर, यस अवधिमा १२ अर्ब १ करोड ९० लाख रुपैयाँ मात्र भित्रिएको छ । जुन प्रतिबद्धताको १८.५० प्रतिशत मात्र हो।

गत आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सबैभन्दा कम भने माघमा १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ आएको थियो । प्रतिबद्धता रकम भित्रिएको हकमा सबैभन्दा बढी असोजमा २ अर्ब ९ करोड ७७ लाख र सबैभन्दा कम मंसिरमा २६ करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

आर्थिक वर्ष २०८०-८१ मा ६९ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आउँदा उक्त वर्ष ८ अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९-८० मा ३० अर्ब ७१ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आउँदा ७ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ भित्रिएको थियो । नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले आर्थिक वर्ष २०८१-८२ मा ९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए ।