शीर्षकहरू

स्वास्थ्य मन्त्रीमा 'हार्वर्ड ग्लोबल हेल्थ स्कलर' डा. पौडेलको नाम चर्चामा

स्वास्थ्य मन्त्रीमा 'हार्वर्ड ग्लोबल हेल्थ स्कलर' डा. पौडेलको नाम चर्चामा

काठमाडौं । अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागिएक युवाको नाम देशभर चर्चा भइरहेको छ। हार्वर्ड ग्लोबल हेल्थ स्कलर र अमेरिकामा प्राथमिक स्वास्थ्य चिकित्सक (Primary Care Physician) डा. प्रदीश पौडेललाई स्वास्थ्यकर्मी र युवामाझ सम्भावित मन्त्रीका रूपमा अगाडि सारिएको छ।

तीसको दशकमा पुगेका डा. पौडेल हाल हार्वर्ड मेडिकल स्कूल मा शिक्षण सहयोगी (Teaching Fellow) हुन्। उनी नेपालकै ग्रामीण भेगमा हुर्किएका र त्यहीँको स्वास्थ्य चुनौतीसँग नजिकबाट परिचित छन्। त्रिवि शिक्षण अस्पतालका एक रेजिडेन्ट चिकित्सकले भने, “उनीसँग प्रणालीको समस्या र समाधान दुवै बुझ्ने क्षमता छ।”

जुम्लामा स्वास्थ्यकर्मी अभावबारे अनुसन्धान गर्दा देखाएको उनका प्रतिवद्धताले स्थानीयलाई मात्र नभई स्वास्थ्यकर्मीहरूलाई पनि प्रभावित पारेको थियो। कर्णालीमा काम गर्ने एक चिकित्सकले भने, “डा. पौडेलले हार्वर्डमा गरेको अनुसन्धान र अन्तर्राष्ट्रिय स्रोतसाधनको प्रयोग गर्दै कर्णालीका हरेक स्वास्थ्यचौकीमा चिकित्सक परिचालन गर्ने योजना बनाएका छन्। उनी मात्र डाटा लिन आएनन्, हाम्रो समस्या बुझेर व्यावहारिक समाधान ल्याउने लक्ष्य लिएर आएका छन्।”

डा. पौडेलको अनुभव केवल नेपालमै सीमित छैन। उनले पश्चिम अफ्रिका मा काम गरेका छन् र स्वास्थ्य नेतृत्व तथा अनुसन्धानमा गरेको योगदानका लागि अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार र मान्यता पाएका छन्। उनले अफ्रिका सीडीसी, हार्वर्ड साउथ एसिया इन्स्टिच्यूट, यूएन यूथ अफिस र क्लीन्टाेन ग्लाेबल इनिसीएटिभसँग समेत सहकार्य ग गरिसकेका छन् । उनले हार्वर्डमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,  निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल, डा. सन्दुक रुइत, डा. मंगळ रावल लगायतलाई स्वागत गरी अन्तर्राष्ट्रिय स्वास्थ्य र नीति संवादको नेतृत्व गरिसकेका छन्।

नेपालमा, उनले नेपाल हेल्थ कोर्प्स मार्फत सयौं युवा स्वास्थ्यकर्मीलाई तालिम दिएका छन् र हजारौँ विद्यार्थी तथा स्वास्थ्यकर्मी लाई ग्रामीण बस्तीमा परिचालन गरेका छन् । उनका पहलले धेरै युवा स्वास्थ्यकर्मी र विद्यार्थीहरूलाई नेतृत्व र सेवा भावनाले प्रेरित गरेको छ।

मुख्य प्रश्न भनेको उनी अमेरिकाको सफल करियर छोडेर नेपाल फर्कने तयार छन् कि छैनन्? उनका नजिकका सहकर्मी भन्छन्, “हार्वर्डमा भूमिका निभाउनु उनको लागि नेपाल फर्किने पुल हो, स्थायी बसाइँ होइन।”

विश्लेषकहरूको मतमा, उनका सम्भावित नियुक्ति केवल मन्त्रालयको पदपूर्तिमात्र होइन, पुस्तान्तरणको संकेत पनि हुनेछ। उनी स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्राथमिक स्वास्थ्य सेवा सुदृढ पार्ने, ग्रामीण क्षेत्रमा चिकित्सक टिकाउने, दक्षिण–दक्षिण चिकित्सक आदान–प्रदान, डिजिटल स्वास्थ्य प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्रोतसाधन भित्र्याउने काममा प्रभावकारी नेतृत्व दिन सक्ने विश्वास गरिएको छ।

डा. पौडेल अहिले नेपालमा नयाँ पुस्ताको नेतृत्व र स्वास्थ्य सुधारको प्रतीक बनेका छन्। 

null​​​​​​​