शीर्षकहरू

२० अर्ब ७० करोड बराबरको बीमा दावी, ओरेन्टल र सिद्धार्थ प्रिमियरमा सबैभन्दा धेरै

२० अर्ब ७० करोड बराबरको बीमा दावी, ओरेन्टल र सिद्धार्थ प्रिमियरमा सबैभन्दा धेरै

काठमाडौं  । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दावी परेको छ । त्यसको कूल दावी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दावी परेको छ । कूल दावी भने रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दावी परेको छ । सो कम्पनीमा रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००  बराबरको बीमा दावी परेको प्राधिकरणले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दावी छ । रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दावी परेको छ ।

नेको इन्स्योरेन्समा ४० वटाको रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जिआईसीमा १२९ वटाको रु ७८ करोड ९३ लाख ७९ हजार बराबरको दावी छ ।राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको रु ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दावी परेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको रु १९ करोड १८ लाख बराबरको बीमा दावी भएको छ ।    नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको रु छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दावी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको रु ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको रु ४२ लाख बराबरको बीमा दावी भएको छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार ९८४ वटा बीमा दावी भएको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ ।

वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने सङ्घले स्पष्ट पारेको छ ।    नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।