शीर्षकहरू

ट्रेजरी बिलको 'डिस्काउन्ट रेट' २ प्रतिशत तल झर्यो, आज साढे १९ अर्बको नवीकरण हुँदै

ट्रेजरी बिलको 'डिस्काउन्ट रेट' २ प्रतिशत तल झर्यो, आज साढे १९ अर्बको नवीकरण हुँदै

काठमाडौं । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समयमा ट्रेजरी बिलको डिस्काउन्ट रेट २ प्रतिशत भन्दा तल झरेको छ ।

सरकारले आन्तरिक ऋण उठाउन जारी गरेकोे ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुुँदा डिस्काउन्ट रेट घट्दै गएको छ । हाल सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशत भन्दा तल रेहेको छ भने पछिल्लो पटक गत भदौ २३ गते बोल भएको ९१ दिने ट्रेजरी बिलको डिस्काउन्ट रेट १.९९  प्रतिशत कायम भएको छ । पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि झण्डै ८ गुणासम्म माग परेको छ ।

यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज असोज ५ सोमबार साढे १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरणका लागि बोलकबोल गर्ने भएको छ । कार्यालयका अनुसार २८ दिन अवधिको ५ अर्ब तथा ९१ दिनको १४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल हुन लागेको हो । बोलकबोलमा आइतबार  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । आइतबार बोलकबोल हुने ट्रेजरी बिल असोज ७ गते मंगलबार निष्काशन हुने कार्यालयले जनाएको छ । 

यसअघि गत भदौ २३ गते बोलकबोल भएको ९१ दिन अवधिको ८ अर्ब ५० करोडको ट्रेजरी बिल खरिदका लागि ६३ अर्ब ६० करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट १.९९ प्रतिशत कायम भएको थियो । 

ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।