काठमाडौं । जेनजी प्रदर्शन पछि सृजीत घटनाक्रमले प्यानीक भएको शेयर बजारमा आइतबार उच्च अंकको सुधार आएको छ । जेनजी प्रदर्शन पछि खुलेको पहिलो दिन गत विहीबार नेप्से सूचक १६० अंकले झरेको थियो । बजार घट्ने क्रमले तिब्रता पाउँदा तीन पटकसम्म नकारात्मक सर्किट ब्रेक लागेको थियो । अन्तत ६ प्रतिशतले बजार घटेपछि त्यसदिनको कारोबार बन्द गरिएको थियो ।
तर, यो सातको पहिलो लिन आइतबारको बजारमा भने नेप्से परिसूचक १११.७० अंक बढेर २६२३.६२ विन्दुमा पुगेको छ । यसदिन ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँबराबरको २ करोड ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।
जेनजी प्रदर्शन पछि बजार उच्च अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा सुझाब कार्यदल गठन गरेका छन् । यसले लगानीकर्तालाई केही सान्त्वना दिएपछि आइतबारको बजारमा सुधार आएको हो ।
पुँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन उक्त कार्यदल गठन गरिएको हो । कार्यदलले ५ दिनभित्र सुधारका लागि सुझाव र कार्ययोजना बुझाउनु पर्नेछ ।
यस्तै, नेपाल धितोपत्र बोर्डले नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आइतबार परिक्षण गरी मंगलबार देखि लागू हेन गरी बोर्डले सो व्यवस्था हटाएको हो । लगानीकर्ताहरुको माग बमोजिम लागू गरिएको यो व्यवस्था लगानीकर्ताहरुको दबाबमै हटाइएको हो । यसले पनि लगानीकर्तामा थप आत्मविश्वास पैदा गरेको हो ।
यता शेयर लगानीकर्ताहरुले बजारमा आएको अस्वाभाविक गिरावटका सम्बन्धमा सरकारको ध्यानकर्षण गराएका छन् । उनीहरुले आइतबार नै नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेललाई भेटी शेयर बजारका सुधारका लागि सुझाव सहित मागहरु राखेका छन् । लगानीकर्ताको मागहरुप्रति राष्ट्र बैंक सकारात्मक रहेको सन्देशले पनि बजार बढाउन सघाउ पुगेको देखिन्छ ।
लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबार गर्न दिनु पर्ने, व्यक्तिगत शेयर धितो कर्जा सीमा हटाइनुपर्ने, लघुवित्त संस्थाको लाभांश वितरणको क्याप हटाउनु पर्ने तथा गैर आवासीय नेपालीलाई पुँजीबजारमा भित्राउनु पर्ने लगायतका मागहरु अघि सारेका छन् ।
अर्कातर्फ बजार ह्वात्तै घटेको मौकामा सस्तो मूल्यमा शेयर खरीदको माग बढेकाले पनि बजार बढेको हो । त्यसैगरी सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । लाभांशको सिजन भएकाले पनि बजार घटेको मौकामा लगानीकर्ताहरुले शेयर खरीदको क्रम बढाउँदा बजारमा सुधार आएको हो ।
आर्थिकन्यूज