भैरहवा ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रुपन्देहीका प्रमुख होटल तथा रिसोर्टहरूमा ठूलो क्षति पुगेको छ।
विशेषगरी बुटवलको ड्रिम इन्टरनेशनल, होटल टुलिप, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र भैरहवाको होटल मौर्या तथा होटल रेडसन आक्रमणको मुख्य शिकार बनेका छन्। आन्दोलनकारीहरूले बार तोडफोड गर्दै महँगो मदिरा फुटाएका, फर्निचर, भाँडाकुडा र सजावट नष्ट गरेका थिए।
चारतारे ड्रिमल्याण्ड गोल्ड रिसोर्टको संरचना पूर्ण रूपमा खरानीमा परिणत भएको छ। दशैंको मुखमा पर्यटक स्वागत गर्न सजिएको रिसेप्सन, रेस्टुरेन्ट र कफी हाउस अहिले सुनसान बनेका छन्। आन्दोलनकै क्रममा होटल मौर्याको क्यासिनो गेमिङ ग्यालेक्सी र ड्रिमल्याण्डमा रहेको सीएमजी क्यासिनो समेत क्षतिग्रस्त भएका छन्।
दशैंलाई लक्षित गरेर होटल व्यवसायीहरूले नयाँ सेवा, विशेष मेनु र सजावटको तयारी गरेका थिए। तर आगलागी र तोडफोडपछि योजना ध्वस्त भएको छ। होटल टुलिपका व्यवस्थापक सरोज बस्नेतले करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको बताए। त्यस्तै, होटल मौर्याका सञ्चालक रामबहादुर कोइरीले आन्दोलनले ठूलो चोट पुर्याए पनि व्यवसायीहरू निराश नभएको बताए।
यसैबीच, होटलहरूमा मर्मत–सम्भार सुरु भएको छ। भत्केका फर्निचर बदल्ने, बार पुनः सजाउने र नयाँ मेनु तयार गर्ने कार्य तीव्र पारिएको छ। ड्रिमल्याण्डका अप्रेशनल इन्चार्ज जोनाथन सी। मेन्डिजले सबै बुकिङमा असर परे पनि कर्मचारी टोली पुनर्निर्माणमा जुटेको बताए।
विशेषगरी बुटवल–भैरहवा क्षेत्र व्यापार, पर्यटन र तीर्थयात्राका कारण सदैव व्यस्त हुने क्षेत्र हो। यहाँको होटल व्यवसायले स्थानीय अर्थतन्त्रलाई टेवा दिएको छ। आन्दोलनले तत्कालीन पीडा थपे पनि व्यवसायीहरू पुनः उठ्ने संकल्पसहित आशावादी बनेका छन्। दशैंको माहोलमा ग्राहकलाई फेरि आकर्षित गर्ने लक्ष्यसहित उनीहरू पुनर्निर्माणको बाटोमा अघि बढिरहेका छन्।
पुनहरि बेल्बासे