शीर्षकहरू

पुँजीगत लाभकर घटाउन र बैंकहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिनुपर्ने लगानीकर्ताको सुझाब

पुँजीगत लाभकर घटाउन र बैंकहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिनुपर्ने लगानीकर्ताको सुझाब

काठमाडौं । शेयर लगानीकर्ताले अर्थमन्त्री रामेश्वर खनाललाई बजारको सुधारका विषयमा सुझाव दिएका छन् । लगानीकर्ताहरुले सोमबार अर्थमनत्रालयमा सात बुँदे सुझाब तथा मागपत्र पेश गरेका हुन ।

हालैको राजनीतिक घटनाक्रमपछि पूर्वतयारी बिना बजार खुलेकै दिन नेप्से सूचकाङक १६० भन्दा बढी गिरावट भई करिब ६ प्रतिशतले नकारात्मक सर्किट लाग्दा यसले बजारमा त्रास फैलाएको र धेरै लगानीकर्ताले पुँजी गुमाउनुका साथै मनोवैज्ञानिक निराशा व्यहोर्नु परेको भन्दै बजार सुधारका लागि आग्रह गरेको छ ।

उनीहरुले मुख्तया बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबार गर्न दिनुपर्ने, पुँजीजगत लाभकर कम गर्नुपर्ने, व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाउनुपर्ने लगायतका मागहरु राखेका छन् । 

मुख्य सुझावहरूः

१. बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबार गर्न दिने सम्बन्धमाः

बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा सहभागी हुन र पूँजी बजारलाई थप गतिशील बनाउन आवश्यक नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक छ । यसका लागि विद्यमान प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोश्रो बजारमा बिना समयसिमा सहज रूपमा खरिद÷बिक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने र यसले गर्दा दीर्घकालीन तरलता प्रवाह ’बढाउने मात्र नभई, सम्पूर्ण पूँजी बजारलाई नै स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुनेछ ।

२. पुँजीजगत लाभकर कम गर्ने सम्बन्धमा

वर्तमानमा छोटो अवधिको कारोबारबाट प्राप्त लाभमा ७.५% र लामो अवधिको कारोबारबाट प्राप्त लाभमा ५ % पूँजिगत लाभकर लागू गरिएको छ । यसलाई कम गर्दै क्रमशः छोटो अवधिको लाभमा ५ % र लामो अवधिको लाभमा ३% कायम गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं। पुँजीगत लाभकर घटाउँदा लगानीकर्ताहरूको मनोबल बढ्न गई पुँजिबजारमा सन्जिवनी बुटिको काम गर्छ । यसले शेयर बजारमा तरलता र कारोबार समेत वृद्धि भई राजस्वमा सकारात्मक प्रभाव पर्छ । साथै, दीर्घकालीन दृष्टिले बजारको स्थायित्व र समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्छ ।

३. पूँजीगत लाभकर सम्बन्धमा ।

शेयर बिक्री गर्दा अल्पकालीन र दिर्घकालिन नाफामा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर मानेर आर्थिक ऐनमार्फत स्पष्ट व्यवस्था गरी, वर्षौंदेखि लगानीकर्तामा रहेको अन्योलता हटाऊन आवश्यक छ ।

४. व्यक्तिगत शेयर धितो कर्जाको सम्बन्धमा:

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत रूपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न आवश्यक देखिन्छ । यसले लगानीकर्ताको पहुँचलाई सहज बनाउने मात्र होइन, विश्वस्त तथा लगानीकर्तामैत्री वातावरण निर्माण गर्न पनि महत्वपूर्ण योगदान पुयाउनेछ ।

५. लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धमा

लघुवित्त संस्थाले २५% भन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्था नेपालले अंगिकार गरेको खुला अर्थनीतिको सिद्धान्त विपरीत रहेको देखिन्छ । अतः यस नियमलाई परिमार्जन गरी संस्थाहरूको वास्तविक नाफा तथा वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्ने व्यवस्था गरिनुपर्छ। साथै, लघुवित्त संस्थाहरूलाई कार्यसम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गरी प्रतिस्पर्धात्मक र दिगोपनामा उन्मुख वातावरण सुनिश्चित गर्नु आवश्यक छ।

६. गैर आवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याऊने सम्बन्धमाः

गैरआवासीय नेपालीले नेपालको पुँजी बजारमा लगानी गर्दा हालका कानुनी र प्रक्रियागत अड्चनका कारण आफो लगानीसहित प्राप्त नाफा सहज रूपमा पुनः स्वदेश बाहिर लैजान नसक्ने अवस्था रहेको छ । यस जटिलतालाई परिमार्जन गरी, गैरआवासीय नेपालीलाई आकर्षित गर्ने खालको सहज र पारदर्शी लगानी वातावरण सिर्जना गर्न आवश्यक छ। यसले नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले तत्काल नीति संशोधन गरी गैरआवासीय नेपालीलाई लगानीका लागि आह्वान गर्नुपर्ने देखिन्छ।

७. नेपाल धितोपत्र वोर्डको स्वायत्तता सम्बन्धमा

नेपालको पूँजी बजारलाई दिगो र पारदर्शी बनाउन नेपाल धितोपत्र बोर्ड को संस्थागत स्वायत्तता सुनिश्चित गर्नु आवश्यक छ । यसका लागि बोर्डलाई बजेटीय, प्रशासनिक र नीतिगत निर्णयमा स्वतन्त्रता दिनु, विशेषज्ञ कर्मचारी नियुक्त गर्न सक्षम बनाउनु, र बजारमा अनियमितता नियन्त्रणका लागि स्वतन्त्र निगरानी तथा प्रवर्तन अधिकार प्रदान गर्नु जरुरी छ ।

साथै, डिजिटल वित्तीय उपकरण नियमन, लगानीकर्ताको सुरक्षा, र अन्तर्राष्ट्रिय सहकार्यका लागि बोर्डलाई पर्याप्त साधन र अधिकार उपलब्ध गराउनुपर्ने देखिन्छ । यसले क्भ्द्यइल् लाई सक्षम, आत्मनिर्भर र आधुनिक अभिभावकीय नियामक संस्थाका रूपमा विकास गर्न सहयोग पुयाउनेछ ।

उल्लेखित सुझावहरूलाई सम्बोधन गरी पूँजी बजारलाई स्थायित्व र दिगोपनातर्फ डोर्याइनेछ भन्ने विश्वासका साथ हामी नेपाल सरकार, अर्थ मन्त्रालयसँग नजिक रहि सहयोग र हातेमालो गर्दै अघि बढ्न तत्पर रहेको समेत लगानीकर्ताले बताएका छन् ।