शीर्षकहरू

लगानीकर्ताले बचतपत्र अभौतिकीकरण गर्न थाले, १८ करोड ब्याज भुक्तानी हुन बाँकी

लगानीकर्ताले बचतपत्र अभौतिकीकरण गर्न थाले, १८ करोड ब्याज भुक्तानी हुन बाँकी

काठमाडौं । सरकारसँग खरिद गरिएको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई लगानीकर्ताहरुले अभौतिकीकरण गर्न थालेका छन् । एक वर्ष यता ९० प्रतिशत भन्दा धेरै लगानीकर्ताले बचतपत्र अभौतिकीकरण गरी सकेका छन् । 

अभौतिकीकरण नभएको बचतपत्रको संख्या न्यून रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पिडिएमओ) का उप सचिव प्रकाश पुडासैनीले बताए । ‘एक वर्षको अवधिमा धेरैले अभौतिकीकरण गरी सके । बाँकी केही संख्या मात्रै छ,’ उनले भने । 

पुडासैनीका अनुसार विदेशमा भएका लगानीकर्ताको अभौतिकीकरण हुन बाँकी छ । यसरी अभौतिकीकरण नभएका बचतपत्रको करिब १३ करोड ब्याज भुक्तानी हुन नपाएको उनले बताए । ‘लगानी गरेर विदेश जानु भएका, सम्पर्क विहीन हुनु भएकाहरूको अभौतिकीकरण भएको छैन । कसैले शायद बिर्सेर पनि अभौतिकीकरण गर्नु भएको छैन होला,’ उनले भने । 

यस्तै, अदालतले भुक्तानी नगर्नु भनेका बचतपत्र बापतको पाँच करोड रुपैयाँ पिडिएमओले भुक्तानी नगरेको उप सचिव पुडासैनीले बताए । ‘केही बचतपत्रको अदालतले अहिले भुक्तानी नगर्नु भनेको छ । अदालतको आदेश नआउँदासम्म लागि हामीले ब्याज भुक्तानी रोकेर राखेका छौ,’ उनले भने ।

भदौ २०८१ देखि पिडिएमओले सबै खालका कारोबारलाई अनलाईन प्रणालीमा प्रविष्ट गर्न सुरु गरेको हो  । गत वर्षसम्म अभौतिकीकरण नभएका बचतपत्रको एक अर्ब ६० करोड रुपैयाँ भुक्तानी भएको थिएन ।

२५ भदौ २०८१ देखि पिडिएमओले सूचना नै जारी गरी बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्न भनेको थियो । ‘लगानीकर्ताले अभौतिकीकरण नगरेपछि हामीले बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्न सुचना नै जारी गर्यो । खरिदकर्तालाई एसएमएस गरी जानकारी गरायौ । त्यसपछि विस्तारै अभौतिकीकरण हुन थाल्यो । 

बचतपत्र अभौतिकीकरणका लागि कार्यालयले सहज प्रक्रिया अवलम्बन गरेको छ । अनलाइन मार्फत बचतपत्र अभौतिकीकरण गर्न नजान्नेले कार्यालयमा आएर डकुमेन्ट बुझाएका कर्मचारीले आफैले अभौतिकीकरण गरिदिने सुविधा पनि छ । तर, कतिपयलाई जानकारी नभएपनि अभौतिकीकरण नगर्नु भएको हुन सक्ने पिडिएमओको बुझाई छ । 

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्नै लगानीकर्तालाई कार्यालयले बर्षमा दुई पटक ब्याज वितरण गर्छ । ब्याज व्यक्तिको बैक सिधै जम्मा हुन्छ । तर, यसको लागी लगानीकर्ताले आफनो बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्नुपर्ने हुन्छ । 

पिडिएमओको तथ्यांक अनुसार सरकारले गत आवसम्ममा २१ अर्ब ३८ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गरेको छ । यस्तो बचतपत्रको न्युनतम ब्याजदर ६.५ प्रतिशत र अधिकतम ९.५ प्रतिशतसम्म प्रदान गरेको छ ।

त्यस्तै, सरकारले गत आवसम्ममा १६ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । जसमध्ये ८१ करोड २९ लाख रुपैयाँको मात्र विक्री भएको छ । वैदेशिक रोजगार बचत पत्रका लागि थोरैमा ९ र धेरैमा १२.५० प्रतिशतसम्म ब्याज प्रदान गरिएको छ । वैदेशिक रोजगार बचतपत्र ५ वर्षको लागि निष्काशन गरिदैं आएको छ।

बचतपत्रमा लगानीकर्ताको आकर्षण कम 

चालु आवमा सरकारले दुई पटक वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र निष्काशन गर्ने तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार २९ भदौ २०८२ मा ५ वर्षे अवधिको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्ने तालिकामा उल्लेख छ ।  यस्तै सोही मितिमा ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तालिका छ।

१९ फागुन २०८२ मा ५ बर्षे अवधिको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्ने तालिका छ । यस बचतपत्रका लागि १९ चैत २०८२ सम्म आवेदन दिन सकिने छ । सोही मितिका ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तालिका रहेको छ ।  

सरकारले निष्काशन गर्ने वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रमा लगानीकर्ताको आकर्षण कम हुने गरेको पाइएको छ । बचतपत्रमा सरकारले प्रतिफल धेरै भएपनि लगानीकर्ताको आकर्षण भने कम हुने गरेको पाइएको हो । 

बचतपत्रमा गरिएको लगानी पूर्ण रुपमा सुरक्षित हुन्छ । बैंक तथा वित्तीय संस्थाको भन्दा बचतपत्रको प्रतिफल उच्च छ । तर पनि बचतपत्रमा लगानीकर्ताको आकर्षण कम भएको उप सचिव पुडासैनीको भनाई छ । सरकारले बचतपत्रको विषयमा लक्षित वर्गलाई पर्याप्त मात्रामा जानकारी दिन नसक्दा खरिदकर्ताको संख्या कम भएको उनको ठम्याइछ । 

कार्यालले निष्काशन गर्ने नागरिक बचतपत्रमा आम नेपाली नागरिकले आवेदन दिन पाउछन् । तर, वैदेशिक रोजगार बचतपत्रका लागि भने वैदेशिक रोजगारीमा भएका नेपाली नागरिक र गैरआवासीय नेपालीले मात्रै आवेदन दिन पाउँछन् । वैदेशिक रोजगारीमा गएको ६ महिना पुरा भएको र वैदेशिक रोजगारीबाट फर्केको ६ महिना पुरा नभएका व्यक्तिले पनि यो बचतपत्रको लागि आवेदन दिन पाउँछन् । 

बचतपत्र भनेको के हो ? 

सरकारले बर्षेनी निश्चित रकम सार्वजनिक ऋण संकलन गर्छ । ऋण संकलन दुई वटा प्रकारले गरिन्छ । एउटा बाह्य ऋण संकलन र अर्को भनेको आन्तरिक ऋण संकलन हो ।

आन्तरिक ऋण पनि सरकारले विभिन्न तरिकाले गर्छ । टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदशिक रोजगार बचतपत्र विक्री गरी सरकारले आन्तरिक ऋण संकलन गर्छ । बचतपत्र लामो अवधिको लागि हुन्छ । ५ देखि १२ वर्षसम्मको बचतपत्र सरकारले निष्कासन गर्दै आएको छ । 

नागरिक बचतपत्र भनेको आम नागरिकबाट सरकारले ऋण संकलन गर्ने प्रक्रिया हो । यस्तो ऋणपत्र विक्री गरी सरकारले निश्चित रकम संकलन गर्छ । नागरिक बचतपत्रमा स्वदेशमा वा विदेशमा रहेका आम नागरिकले आवेदन दिन पाउछन् । खरिद गरेको ऋणपत्रमा नागरिकले ब्याज पनि पाउछन् । यस्तो खालको ब्याज बैक तथा वित्तीय संस्थाले दिने भन्दा बढी नै हुने गरेको कार्यालयका उप सचिव पुडासैनीले बताए ।

त्यस्तै वैदेशिक रोजागर बचतपत्रमा भने नेपाल सरकारबाट श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकले मात्रै आवेदन दिन पाउछन् । आवेदन दिनका लागि श्रमिक विदेश गएर काम गरेको ६ भएको हुनुपर्नेछ । त्यस्तै, गैरआवासीय नेपालीले पनि यसमा लगानी गर्न सक्नेछन् । 

यस्तो बचतपत्र लगानीकर्ताले कुनै पनि समयमा विक्री गर्न सक्छन्  । लगानीकर्ताले बजार निर्माताकोमा पुगेर तत्काल बचतपत्र विक्री गर्न सक्छन् । अन्यथा पाँच वर्ष पुरा भएपछि सरकारले सावा र ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्छ । यस्तो खालको बचतपत्र सरकारले वर्षमा दुई पटक बिक्री खुल्ला गर्छ भने ब्याज ६ महिनामा एक पटक वितरण गर्छ । 

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नगरिक वा गैरआवासीय नेपालीले आफु वा आफनो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिनेछ । 

नागरिक तथा वैदेशिक रोजगार बचतपत्र खरिदका लागि इच्छुक व्यक्तिले कार्यालयको वेवसाइट रहेको इन्भेष्टर पोर्टलमा गएर आफनो प्रोफाइल क्रियट गर्नुपर्नेछ । यसरी क्रियट गरिएको प्रोफाइल पहिलो पटक बजार निर्माताले प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि लगानीकर्ताले त्यही प्रोफाइलमा गएर आफनो बचतपत्रको विवरण, ब्यालेन्स, खरिद र विक्री गर्न सक्नेछन् ।