काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गरेमा सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सकिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको हो ।
मन्त्रालयका अनुसार कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत मागेको, वा सेवा प्रवाहमा अनावश्यक ढिलाइ गरेको अवस्थामा समेत नागरिकहरूले सिधै गुनासो गर्न सक्नेछन् ।
अर्थमन्त्री खनालको इमेल [email protected], मन्त्रालयको इमेल [email protected] र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न भनिएको छ। उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई समेत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।
अर्थ मन्त्रालयले यस कदमले सरकारी सेवा अधिक पारदर्शी र जवाफदेही हुने अपेक्षा राखेको जनाएको छ ।
आर्थिकन्यूज