शीर्षकहरू

सरकारको प्रतिबद्धताले लगानीकर्ताको 'कन्फिडेन्स' फर्किदा शेयर बजारमा उच्च सुधार

सरकारको प्रतिबद्धताले लगानीकर्ताको 'कन्फिडेन्स' फर्किदा शेयर बजारमा उच्च सुधार

काठमाडौं । जेनजी प्रदर्शन पछि सृजीत घटनाक्रमले प्यानीक भएको शेयर बजारमा पछिल्लो दुई कारोबार दिनमा उच्च अंकको सुधार आएको छ । जेनजी प्रदर्शन पछि खुलेको पहिलो दिन गत विहीबार नेप्से सूचक १६० अंकले झरेको थियो । तर, यो साताको आइतबार र मंगलबार गरेर दुई कारोबार दिनमै १७० अंकले उकालो लागको छ ।

जेनजीको प्रदर्शनपछि पहिलो दिन गत असोज २ गते बिहीबार खुलेको शेयर बजार (नेप्से) मा १६० अंकको ‘पहिरो’ गयो । १० दिनपछि खुलेको बजारमा तिन पटक नकारात्मक सर्किट लाग्दै ६ प्रतिशतले घटेपछि त्यस दिनको कारोबार नै बन्द गरियो।  इतिहासमै पहिलो पटक एकै दिन यति धेरै अंकले नेप्से घटेपछि लगानीकर्तामा नैराश्यता जगायो भने सरकारको समेत गम्भिर ध्यानकर्षण भयो ।

शेयर बजारमा ठूलो पहिरो चलेपछि विभिन्न लगानीकर्ताका संघ संगठनले गभर्नर डा. विश्वनाथ पौडेलदेखि लिएर अर्थमन्त्री रामेश्वर खनालसम्मलाई भेटेर ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र बुझाए। शेयर बजारमा देखिएका समस्याहरुको तत्काल समाधान गर्नका लागि नव नियुक्त अर्थमन्त्री रामेश्वर खनाल तथा गभर्नर पौडेल सकारात्मक देखिए । उनीहरुले बजार सुधारका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। नभन्दै आइतबार शेयर बजारले आफ्नो लय पक्रियो । आइतबार नेप्से १११.७० अंकले बढेको थियो । सो लयलाई कायमै राख्दै मंगलबार पनि नेप्से ५८.६३ अंकले उकालो लागेको छ । सोमबार घटस्थापनको सार्वजनिक विदा परकोले शेयर बजार बन्द रहेको थियो । 

मंगलबार नेप्से परिसूचक ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५ अर्ब २९ करोड २७ लाख ७३ हजार शेयर खरिदबिक्री भएको छ । बजारले सकारात्मक लय समाएपछि शेयर बिक्रीको चाप घट्दा सूचक बढेको हो भने कारोबार रकम घटेको हो । यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ।

जेनजी प्रदर्शन पछि बजार उच्च अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा सुझाब कार्यदल गठन गरेका थिए । यसले लगानीकर्तालाई केही सान्त्वना दिएपछि बजारमा सुधार आएको हो । सरकारले पुँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन उक्त कार्यदल गठन गरेकोे हो । 

अर्कातर्फ शेयर लगानीकर्ताहरुले बजारमा आएको अस्वाभाविक गिरावटका सम्बन्धमा सरकारको ध्यानकर्षण गराएका छन् । विभिन्न माग बोकेर अर्थमन्त्री, गभर्नर र सुझाब कार्यदललाई भेट्न पुगेका लगानीकर्तालाई सरकारले बजार सुधारको प्रतिबद्धता जनाएकाले पनि लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । लगानीकर्ताको मागहरुप्रति अर्थमन्त्री र राष्ट्र बैंक सकारात्मक रहेको सन्देशले पनि बजार बढाउन सघाउ पुगेको देखिन्छ। यसले पछिल्लो दुई कारोबार दिनमै बजारमाले लयमा समाएको छ । 

यस्तै, नेपाल धितोपत्र बोर्डले नेप्सेले अन्तिम १५  मिनेटको भारित औसत गणना विधि आजैदेखि हटाएको छ । लगानीकर्ताहरुको माग बमोजिम लागू गरिएको यो व्यवस्था लगानीकर्ताहरुको दबाबमै हटाइएको हो । यसले पनि लगानीकर्तामा थप आत्मविश्वास पैदा गरेको हो । 

लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिनु पर्ने, व्यक्तिगत शेयर धितो कर्जा सीमा हटाइनुपर्ने, लघुवित्त संस्थाको लाभांश वितरणको क्याप हटाउनु पर्ने तथा गैर आवासीय नेपालीलाई पुँजीबजारमा भित्राउनु पर्ने लगायतका मागहरु अघि सारेका छन् ।

अर्कातर्फ बजार ह्वात्तै घटेको मौकामा सस्तो मूल्यमा शेयर खरीदको माग बढेकाले पनि बजार बढेको हो । त्यसैगरी सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । लाभांशको सिजन भएकाले पनि बजार घटेको मौकामा लगानीकर्ताहरुले शेयर खरीदको क्रम बढाउँदा बजारमा सुधार आएको हो । 

राजनीतिक घटनाक्रम बाहेक बजार घट्नुपर्ने यथेष्ट कुनै कारण थिएन । अर्थमन्त्री स्वयंले बजारमा हल्ला भए अनुरुप अर्थतन्त्र धरासायी अवस्थामा नरहेको बताउदै आइरहेका छन्। उनले अर्थतन्त्रलाई उकास्न सकिने भन्दै सबैको मनोविज्ञान बढाउने काम पनि गरिरहेका छन्। अर्थमन्त्री खनालले सम्भव हुने सवै मागहरु तत्काल पूरा गर्नेगरी आधार बनाउन भन्दै अर्थ मन्त्रालय र पुँजीबजार सम्वद्ध निकायहरुलाई निर्देशननै दिएका छन् । 

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। 

अर्थमन्त्रालय श्रोतका अनुसार अर्थमन्त्री खनाल र गभर्नर पौडेलबीच केही दिन अघि भएको छलफलमा शेयर लोनमा लगाईएको क्यप हटाउने, बैक बित्तीय संस्थाहरुलाइ सहज रुपमा शेयर किनबेच गर्न रोक नलगाउने, माइक्रोफाइनान्सहरुलाई आर्जित मुनाफा बितरणमा क्याप नतोक्ने र सहजता प्रदान गर्ने लगायतका बिषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै, ब्रोकरहरुद्वारा मार्जिन कारोबार सम्वन्धी ब्यवस्था तत्काल कार्यान्वयनमा ल्याउने, सर्कुलर ट्रेडिङ र इन्साइडर सूचनाका आधारमा हुने ट्रेडिङलाई तत्काल कार्वाहीको दायरामा ल्याउने र शेयर कारोवारमा बैदेशिक लगानी भित्र्र्याउनका लागि स्पष्ट कानुनी तथा नीतिगत ब्यवस्था गर्ने लगायतका बिषयमा पनि सहमति भएको छ । यसले शेयर लगानीकर्ताको मनोबल बढ्दा बजारले पनि लय समातेको हो । 

यस्ता छन्  लगानीकर्ताका मागहरु :

बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबार गर्न दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा सहभागी हुन र पूँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक छ । यसका लागि विद्यमान नीतिगत प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज रूपमा खरिद÷विक्री गर्न अनुमति दिनु पर्ने लगानीकर्ताहरुले माग राखेका छन् । स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्नुपर्छ । यसले बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र होइन, सम्पूर्ण पूँजी बजारलाई स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुने उनीहरुको दाबी छ । 

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरिरहेको शेयर कर्जाको सीमा वर्तमान आर्थिक अवस्था र पूँजी बजारको विस्तारसँग तुलना गर्दा निकै पुरानो भइसकेको छ । यसलाई समयसापेक्ष रूपमा वृद्धि गर्नु जरुरी छ, जसले बजारमा तरलता सहज पार्ने, लगानीकर्ताको पहुँच बढाउने र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्ने लगानीकर्ताका दाबी छ ।

व्यक्तिगत शेयर धितो कर्जा सीमा हटाइनुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत रूपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न लगानीकर्ताहरुले माग गरेका छन् । यसले लगानीकर्ताको पहुँचलाई सहज बनाउने मात्र होइन, विश्वस्त तथा लगानीकर्तामैत्री वातावरण निर्माण गर्न पनि महत्वपूर्ण योगदान पु¥याउने उनीहरुको दाबी छ । 

लघुवित्त संस्थाको लाभांश वितरणको क्याप हटाउनु पर्ने

लघुवित्त संस्थाले २५% भन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्था नेपालले अंगिकार गरेको खुला अर्थनीतिको सिद्धान्त विपरीत रहेको लगानीकर्ताहरुले बताएका छन् । अतः यस नियमलाई परिमार्जन गरी संस्थाहरूको वास्तविक नाफा तथा वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्ने व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ । साथै, लघुवित्त संस्थाहरूलाई कार्यसम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गरी प्रतिस्पर्धात्मक र दिगोपनामा उन्मुख वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् । 

गैर आवासीय नेपालीलाई पुँजीबजारमा भित्राउनु पर्ने 

गैरआवासीय नेपालीले नेपालको पुँजी बजारमा लगानी गर्दा हालका कानुनी र प्रक्रियागत अड्चनका कारण आफो लगानीसहित प्राप्त नाफा सहज रूपमा पुनः स्वदेश बाहिर लैजान नसक्ने अवस्था रहेको छ । यस जटिलतालाई परिमार्जन गरी, गैरआवासीय नेपालीलाई आकर्षित गर्ने खालको सहज र पारदर्शी लगानी वातावरण सिर्जना गर्न आवश्यक रहेको लगानीकर्ताहरुले सुझाव दिएका छन् । यसले नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले तत्काल नीति संशोधन गरी गैरआवासीय नेपालीलाई लगानीका लागि आह्वान गर्नुपर्ने उनीहरुको सुझाव छ ।

null