काठमाडौं । नेपालले स्वीकृत गरेको भन्दा धेरै न्यून प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रने गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार विगत २९ वर्षको अवधिमा स्वीकृत गरेको भन्दा थोरै मात्रै लगानी भित्रने गरेको पाइएको छ । लगानी भित्रने रकमको हिस्सा प्रति वर्ष घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकको अध्ययन अनुसार हालसम्म नेपालले स्वीकृत गरेको लगानी रकमको ३२ प्रतिशत मात्रै नेपाल भित्रिएको छ । २०५२/५३ देखि आव २०८०/८१ को अवधिमा स्वीकृत भएको रकममध्ये जम्मा ३१.९ प्रतिशत लगानी भित्रिएको छ । तथ्यांक अनुसार सो अवधिमा पाँच खर्ब १२ अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । तर, १६ खर्ब ३४ अर्ब २५ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको तथ्यांकले देखाएको छ ।
आव २०८०/८१ मा स्वीकृत भएको प्रत्यक्ष वैदेशिक लगानी रकममध्ये जम्मा १२ं.१ प्रतिशत मात्रै भित्रिएको थियो । सो आवमा ६९ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ लगानी स्वीकृत भएको थियो । तर, आठ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै, आव २०७९/८० मा ३० अर्ब ६९ करोड ९४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको थियो । तर, पाँच अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्रै भित्रिएको तथ्यांकमा उल्लेख छ । यो रकम कुल स्वीकृत भएको लगानी रकमको १९.४ प्रतिशत हो ।
आव २०७८/७९ मा ५४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको थियो । तर, १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ मात्रै लगानी नेपाल भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ । यो रकम स्वीकृत भएको रकमको ३४ं.३ प्रतिशत हो । आव २०७७/७८ मा भने ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ स्वीकृत भएको थियो । तर, १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो रकम स्वीकृत रकमको ६०.६ प्रतिशत हो । आव २०७६/७७ मा ३७ अर्ब ८० करोड ५८ लाख रुपैयाँ लगानी स्वीकृत भएको थियो । तर, १९ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएको थियो । यो रकम स्वीकृत रकमको ५१ं.५ प्रतिशत हो ।
स्वीकृत भएका लगानीमध्ये सबै रकम नभित्रने नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान प्रमुख राम शरण खरेलले बताए । ‘लगानीको लागि प्रस्ताव गर्ने वित्तीकै नेपालले स्वीकृत दिन सक्छ । लगानी गर्नेले पनि प्रतिफलको अपेक्षा गरेको हुन्छ । प्रतिफल पाउनका लागि सम्बन्धित मुलुकको नीति नियमले पनि प्रभाव पार्छ । र वास्तविक रुपमा लगानी गर्नु पूर्व लगानीकर्ताले सम्बन्धित मुलुकको राजनीति अवस्था, आर्थिक अवस्था र वैदेशिक लगानी सम्बन्धी नीति नियमलाई पनि हेर्छ । उपयुक्त देखे मात्रै लगानी गर्ने नै हो,’ उनले भने । रकम नै पठाउने समयसम्ममा लगानीकर्ताको मनस्थिति परिवर्तन पनि हुन सक्छ ।
विश्वव्यापी लगानी ३ं.७ प्रतिशतले बढ्यो
विश्व लगानी प्रतिवेदन २०२५ का अनुसार विश्वव्यापी बैदेशिक लगानी ३ं.७ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ सम्ममा यस्तो लगानी १५०८ं.८ अर्ब अमेरिकी डलर पुगेको छ। जुन सन् २०२३ को तुलनामा ३.७ प्रतिशतले बढी हो । सन् २०२३ मा यस्तो लगानी १४५५ अर्ब अमेरिकी डलर थियो । २०२२ मा १३८९.५ अर्ब अमेरिकी डलर थियो । सन् २०२१ म १६७६ं.५ अर्ब अमेरिकी डलर, सन् २०२० मा ८६८.६ अर्ब अमेरिकी डलर र सन् २०१९ मा १६५८.८ अर्ब अमेरिकी डलर लगानी भएको थियो।
विकसित अर्थतन्त्रहरूमा प्रत्यक्ष विदेशी लगानी सन् २०२४ मा ८.८ प्रतिशतले बढेर ६४१.६ अर्ब अमेरिकी डलर पुगेको छ । सन् २०२३ मा ५८९.६ अर्ब अमेरिकी डलर लगानी भएको छ । सन् २०२२ मा ४५९.९ अर्ब अमेरिकी डलर लगानी भएको छ । सन् २०२१ म ७७७ अर्ब अमेरिकी डलर, सन् २०२० मा २२७.६ अर्ब अमेरिकी डलर र सन् २०१९ मा ९५५.३ अर्ब अमेरिकी डलर लगानी भएको थियो ।
यस्तै, गरी विकासोन्मुख अर्थतन्त्रहरूमा भएको लगानी ०.२ प्रतिशतले वृद्धि भाई ८६७.२ अर्ब अमेरिकी डलर पुगेको छ । सन् २०२३ मा ८६५.४ अर्ब अमेरिकी डलर लगानी भएको तथ्यांक छ । सन् २०२२ मा ९२९.६ अर्ब अमेरिकी डलर लगानी भएको छ । सन् २०२१ म ८९९.५, सन् २०२० मा ६४०.९ र सन् २०१९ मा ७०३.५ अर्ब अमेरिकी डलर लगानी भएको छ ।
एशियन मुलुकहरूमा हुने प्रत्यक्ष वैदेशिक लगानी भने सन् २०२४ मा २.९ प्रतिशतले घटेको छ । सन् २०२३ मा ६२२.३ अर्ब अमेरिकी डलर लगानी रहेकोमा सन् २०२४ मा घटेर ६०४.५ अर्ब अमेरिकी डलरमा झरेको छ ।
एशियाले विश्वकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गर्छ । जसले विश्वव्यापी लगानीको ४०.१ प्रतिशत हिस्सा ओगटेको छ । तर यो लगानी सीमित मुलुकहरूमा मात्रै केन्द्रित छ । सिंगापुरको कुल प्रत्यक्ष वैदेशिक लगानीको २३.७ प्रतिशत हिस्सा छ । हङकङ–चीनको २०.९ प्रतिशत र चीनको १९.२ प्रतिशत हिस्सा छ ।
सन् २०२४ साउथ एशियन मुलुक भित्रने प्रत्यक्ष वैदेशिक लगानी ३८.८ प्रतिशतले घटेको छ । साउन एशियन मुलुकहरुमा भित्रने लगानीमध्ये नेपालमा भित्रिएको लगानीको हिस्सा १३ प्रतिशत छ । पाकिस्तानको सबैभन्दा धेरै २४ प्रतिशत छ । भुटानको १९ प्रतिशत छ । तर, भारतको सबैभन्दा धेरै ४३ प्रतिशतले घटेको छ । श्रीलंकाकाे १९.५ र बंगलादेशको १३ंं.७ प्रतिशतले घटेको छ ।
एकै वर्षमा १२ अर्ब ५७ करोड लाभांश
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरे बापत लाभांश लैजान पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार आव २०८०/८१ मात्रै १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ लाभांश लैजान नेपाल सरकारले स्वीकृत दिएको छ । आव २०७९/८० मा भने १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांश लैजाने स्वीकृत दिएको थियो । आव आव २०७८/७९ मा १५ अर्ब ६७ करोड ५२ र आव २०७७/७८ मा २६ अर्ब ७ करोड ६६ लाखको लाभांश लैजाने स्वीकृत दिएको थियो ।
आव २०८०/८१ मा उत्पादन क्षेत्रमा भएको प्रत्यक्ष वैदेशिक लगानीबाट सबैभन्दा धेरै लाभांश लैजान स्वीकृत गरिएको छ । सो वर्ष उत्पादन क्षेत्रमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ लाभांश स्वीकृत गरिएको छ । बैक तथा बीमा क्षेत्रबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश लैजान स्वीकृत गरिएको छ । विद्युत, ग्यास, स्टिम र एयरकण्डिसन क्षेत्रमा भएको लगानीबाट ३७ करोड २२ लाख रुपैयाँ लाभांश स्वीकृत गरिएको छ । अन्य क्षेत्रमा भएको लगानीबाट १३ करोड ५४ लाख रुपैयाँ लाभांश स्वीकृत गरिएको छ ।
विगत पाँच वर्षमा स्वीकृत भएको लगानी र भित्रिएको लगानी
मुना कुँवर