काठमाडौं । सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी सवारी साधनको व्यापक बीमा गर्ने निर्णय गरेको छ । ५ असोज २०८२ बसेको मन्त्रिपरिषद्को बैठकले सबै यस्तो निर्णय गरेको हो ।
भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी प्रदर्शनका क्रममा एक हजार ४२ वटा सरकारी सवारी साधनमा आगजनी तथा तोडफोड भएको सरकारको प्रारम्भिक अनुमान छ । यो संख्या अझै थपिँदै जाने सरकारी अधिकारीहरू बताउँछन् । तर, सरकारी सवारी साधनको व्यापक बीमा नहुँदा सरकारले निर्जीवन बीमा कम्पनीबाट बीमा दाबी भुक्तानी रकम नपाउने भएको छ ।
सवारी साधन बीमा अन्तर्गत व्यापक बीमा र तेस्रो पक्ष बीमा छन् । व्यापक बीमा पोलिसीले कुनै दुर्घटनाबाट सावरी साधनको क्षति भएमा दाबी भुक्तानी गर्छ । साथै थप बीमाशुल्क भुक्तानी गरे सवारी साधन भित्र रहेका यात्रु, चालक, सहचालकको पनि रक्षावरण गर्न सकिन्छ । यो पोलिसीले हुलदंगा तथा आतंकवाद जोखिम समूहको पनि रक्षावरण गर्छ । तेस्रो पक्ष बीमाले भने सवारी साधनले अन्य पक्षलाई हानि नोक्सानी पुराएमा कम्पनीले दाबी भुक्तानी गर्छ ।
तर, सरकारले तेस्रो पक्ष बीमालाई मात्रै अनिवार्य गरेको छ । त्यसैले अधिकांश सवारी साधन धनीले तेस्रो पक्षको मात्रै बीमा गर्ने गरेको नेपाल बीमक संघका अध्यक्ष एवम् सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदेवारले बताए । तर, यो पोलिसीले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिको दाबी भुक्तानी भने गर्दैन । ‘जेनजी प्रदर्शनबाट भएको क्षतिलाई हुलदंगा तथा आतंकवाद जोखिम समूह बीमाले मात्रै रक्षावरण गर्छ । यो सुविधा व्यापक बीमा पोलिसी खरिद गर्नेलाई मात्रै पाउँछन्,’ उनले भने । सरकारी सवारी साधनको हकमा धेरै जसो सवारी साधनको बीमा नै नगर्ने प्रचलन रहेको उनले बताए । गरी हाले पनि तेस्रो पक्ष बीमा मात्रै गर्ने प्रचलन रहेको उनले बताए ।
त्यसैले जेनजी प्रदर्शनका क्रममा क्षति भएका अधिकांश सवारी साधनले बीमा दाबी भुक्तानी नपाउने देखिएको छ । तसर्थ आगामी दिनमा पनि हुन सक्ने यस्ता जोखिमबाट सरकारी सवारी साधनको सुरक्षण गर्न सरकारले सवारी साधनको व्यापक बीमा गर्ने निर्णय गरेको हो।
सरकारले राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधाका लागि नयाँ सवारी साधन खरिद नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उपलब्ध सवारी साधनबाटै व्यवस्थापन गर्नुपर्नेछ ।
सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी छुट्टै मापदण्ड अर्थ मन्त्रालयले ४५ दिनभित्र तयार गरी सोही बमोजिम व्यवस्थापन गर्नुपर्नेछ । समयमा निर्वाचन सम्पन्न गर्न तथा शान्ति सुरक्षा प्रयोजनको लागि उपलब्ध सवारी साधनबाट अपुग भएमा खरिद गर्न सकिनेछ ।
यस्तै, सवारी सुविधा सम्बन्धी सम्बन्धित कानूनमा संख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई एक भन्दा बढी सवारी साधन उपलब्ध नगराउने सरकारले निर्णय गरेको छ । सवारी साधन क्षति भएका मन्त्रालय एवम् केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारी साधनबाटै व्यवस्थापन गर्नुपर्नेछ ।
१०४२ सरकारी सवारी साधन नष्ट भएको प्रारम्भिक आँकडा
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा रहेका एक हजार ४२ वटा सवारी साधन आगजनी तथा तोडफोड भएको सरकारको प्रारम्भिक आँकडा छ । चार पांग्रे साना गाडी/बस ४४१ र ६०१ दुई पांग्रे मोटरसाइकल÷स्कुटर तोडफोड र आगजनी भएका छन् ।
प्रदर्शनबाट सहरी विकास तथा भवन निर्माण विभागमा रहेको सबैभन्दा धेरै सवारी साधन आगजनी र तोडफोड भएका छन् । तथ्यांक अनुसार विभागमा रहेका ५० वटा चार पांग्रे सवारी साधन क्षतिग्रस्त भएका छन् भने अनुमानित २०० वटा दुई पांग्रे सवारी साधन क्षतिग्रस्त भएका छन् ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ चार पांग्रे सवारी साधन र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ । अर्थमन्त्रालयको साना गाडी÷बस ३६ वटा र ५४ वटा मोटरसाइकल क्षतिग्रस्त भएका छन् । गृहमन्त्रालयको २५ वटा साना गाडी र ३० वटा मोटरसाइकल क्षतिग्रस्त भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९ साना–ठूला सवारी साधन र ३९ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३२ वटा साना गाडी, दुई ठूला बस, ३९ मोटरसाइकल एवम् स्कुटरमा आगजनी भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा चार पांग्रे र ४७ दुई पांग्रे सवारी साधनमा क्षति पुगेको छ । युवा तथा खेलकुद मन्त्रालयका १९ चार पांग्रे र २३ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ ।
संघीय संसद् अन्तर्गत १८ वटा साना गाडी र ३६ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ । वन तथा वातावरण मन्त्रालयका १७ साना÷ठूला सवारी साधन र १० वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ वटा दुई चक्केमा क्षति पुगेको छ।
बग्गीखानामा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा साना–ठूला सवारी ३९ वटा मोटरसाइकलमा आगजनी भएको छ । सर्वोच्च अदालतका ५१ वटा साना–ठूला सवारी र मोटरसाइकलको आगजनीको यकिन नै हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २२ वटा सानाठूला सवारी र १४ वटा मोटरसाइकलमा क्षति पुगेको छ । सडक विभागका ६५ साना–ठूला सवारीमा आगजनी गरेर ध्वस्त बनाइएको छ । मोटरसाइकलको संख्या गन्नै नसक्ने अवस्थामा रहेको विभागले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयको २ साना र १ वटा बस गरी तीन वटामा आगजनी भएको थियो।
जेनजी प्रदर्शनका क्रममा सवारी साधन भएको क्षतिमध्ये निर्जीवन बीमा कम्पनीहरूमा एक हजार ७७८ वटा मोटर बीमा पोलिसी बापत दुई अर्ब ९५ करोड २६ लाख रुपैयाँको बीमा दाबी परेको छ । यो संख्या भने सरकारी र निजी सवारी साधनको दुवैको हो । तर, यो बास्तविक तथ्यांक भने होइन । यो सुरुवाती दाबी मात्रै हो । बीमितले दाबी गरे अनुसार सबै दाबी भुक्तानी लायक नहुन पनि सक्छन् । बीमा कम्पनीको बीमा सर्भेयरले सर्भे गरेपछि मात्रै वास्तविक दाबीको तथ्यांक आउने नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशन एवम् प्रवक्ता सुशील देव सुवेदीले बताए ।
व्यापक मोटर बीमा भनेको के हो ?
सवारी साधनसँग सम्बन्धित सबै प्रकारका जोखिम वहन हुने गरी गरिने बीमालाई व्यापक मोटर बीमा भनिन्छ । जसमा सावरी साधन दुर्घटना हुँदा सवारी साधनलाई नै हुने क्षति, सवारी साधन भित्र रहेको यात्रुलाई हुने क्षति र सवारी साधनले तेस्रो पक्षलाई गर्ने क्षतिको जोखिम समेत वहन गरिन्छ । तुलनात्मक रुपमा यस्तो खालको बीमाको शुल्क बढी हुन्छ ।
यस्तो खालको बीमा अन्र्तगत मोटरसाइकलको बीमामा मोटरसाइकल चालक, मोटर साइकलको पछाडि सवार एक व्यक्ति र तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्चका साथै मोटर साइकलको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेस्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा पनि अधिकतम दायित्व २५ लाखको सीमामा रही क्षतिपूर्ति भुक्तानी गर्छ ।
निजी सवारीको हकमा सवारी चालक, गाडीमा सवार अन्य बिल बुकमा उल्लेख भएको सीट संख्या अनुसारको सवार यात्रु, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेश्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेश्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ८० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ ।
व्यावसायिक सवारी साधन बीमालेख अन्तर्गत सवारी साधनको चालक, परिचालक, चेकर, हेल्पर, वा अन्य कर्मचारी, सवारी साधन दर्ता प्रमाणपत्रमा उल्लेख भएको सिट संख्याको आधारमा सवार यात्री, तेस्रो पक्षलाई भएको चोटपटक तथा अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च, तेश्रो पक्षको सम्पत्ति क्षतिका साथै मोटर गाडीको क्षतिको पनि रक्षावरण गरेको हुन्छ । तेश्रो पक्षको सम्पत्ति क्षति भएको खण्डमा अधिकतम दायित्व ५० लाखसम्मको क्षतिपूर्ति प्रदान गर्दछ ।
तेस्रो पक्ष बीमा
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई क्षति पु¥याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु नै तेस्रो पक्ष बीमा हो । यस योजना अनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पतिलाई हानी पु¥याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनु पर्दैन । तर, तेस्रो पक्ष बीमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नु पर्ने हुन्छ ।
तेस्रो पक्ष बीमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई क्षति पुराएको अवस्थामा अधिकतम २५ लाख रुपैयाँ र समानको क्षति भएमा अधिकतम २५ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा समानमा क्षति पुराएमा अधिकतम ८० लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, व्यवसायीक गाडीहरूबाट भएको दुर्घटनामा अधिकतम ५० लाख भुक्तानी गर्छ ।
मुना कुँवर