काठमाडौं । धनगढी ८ रामजानकी टोलकी सन्तोषी रानाको लागि २०७८ को नयाँ दिन बिर्सनै नसकिने बन्यो । त्यो दिन उनी विरामी परिन् । उपचारका लागि नवजीवन अस्पताल लगियो, तर त्यहाँ उपचार भएन, त्यसपछि परिवारले उनलाई निसर्ग अस्पताल हुँदै भारतमा उपचारको प्रयास गर्यो । तर त्यहाँ पनि उपचार हुन नसकेपछि तीन दिनपछि फेरी उनलाई काठमाडौं पुर्याइयो ।
यसरी जता गएपनि उपचार नहुनुको कारण विश्वव्यापी कोभिड १९ को महामारी थियो । यता सन्तोषी भने आफ्नो दोस्रो सन्तान प्राप्तिका लागि संघर्ष गर्दै थिइन् । गर्भ अवस्थामा अचानक प्रेसर बढेका कारण उनलाई चिकित्सा सेवाको जरुरत थियो । यसरी भौतारिंदै वैशाख पहिलो साता पाटन अस्पतालमा दोस्रो सन्तानको जन्म भयो । सन्तोषी कोरोना संक्रमित भइन् । आमा र नवजात शिशु दुवै सकुशल रहे । तर, नसोचेको कुरा भयो । सन्तोषीको उपचारका लागि उनलाई काठमाडौंसम्म पु¥याउने उनका श्रीमान भने रहेनन् ।

दोस्रो सन्तान प्राप्ति पछि ठूली छोरी र घरको रेखदेख गर्न श्रीमतीलाई आफन्तजनको जिम्मा लगाएर श्रीमान झेली राना घर फर्केका थिए । बाटैमा कोभिड लक्षण देखियो । घरमा पुगेपनि बाहिरै सुते । सन्चो नभएपछि अस्पताल भर्ना भए । तर त्यहाँबाट फर्केनन् । राम्रो उपचार पाएनन्, अक्सिजनको अभावमा तड्पिनुपरेको थियो ।
तीसवर्षमै जीवनसँगी गुमाएकी सन्तोषी अहिले पनि पीडामै छिन् । दुई छोरी हुर्काउनु पढाउनु छ । प्रेम विवाह गरेर जुनीभर सँगै जिउने कसम खाएकी उनी त्यो पीडा व्यक्त गर्नै सक्दिनन् । “उहाँ सपनामा आइरहनुहुन्छ, हाम्रो घर पुरानो थियो, सपनामा आएर तिमीहरु यो पुरानो घरमा नबस भन्नुभयो, अनि मैले नयाँ घर बनाए । अहिले पनि सपनामा आइरहनुहुन्छ, केही बोल्नुहुन्न,” उनी भन्छिन् ।
ठूली छोरी सम्झनाले यो वर्ष एसइइ दिइन् । अभिभावक गुमाएपछि उनको पीडा पनि उस्तै छ, आर्थिक कारण निजी विद्यालयबाट उनी सरकारी विद्यालयमा सरिन ।
टीकापुरका जनक बहादुर रावलको परिवार कोभिड अघिसम्म ठिकठाक थियो । तर कोभिडले उनको जीवनसँगिनीलाई चुँडाएपछि उनी अहिलेसम्म पनि सम्हालिन सकेका छैनन । दुःखका बेला ६ दाजुभाइ मध्ये कोही आएनन् । आफै अन्तिम संस्कार गरे । काजक्रिया गरे एक्लैले । श्रीमतीको साथ गुमाएपछि मानसिक अवस्था खल्वलियो । भित्तामा झुण्डिएको श्रीमती द्रुपदा सोडारी रावलको तस्वीर हेरेर दिन बिताउँदैछन् । सपना विपना उनकै स्मृतिमा दिनहरु बित्दैछन् । संक्रमण भएपछि दु्रपदालाई विभिन्न अस्पतालहरुमा लगियो, तर वेड पाउन, अक्सिजन पाउन परेको कठिनाई वर्णन गर्न सकिदैन । यदि ती पूर्वाधारहरु भएको भए उनको ज्यान बचाउन सकिने परिवारको दावी छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको केही दृष्टान्तहरु हुन् यी । महामारीको चपेटामा धेरै परिवार परे । आफन्तजन गुमे । आफन्तहरु शोक र पीडाबीच बाँचिरहेका छन् ।
चीनबाट फैलिएको कोभिड १९ महामारीबाट नेपालमा १० लाख भन्दा बढी संक्रमित हुनुका साथै १२ हजारको ज्यान गएको थियो । विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार यो महामारीबाट ७० लाख भन्दा बढीको ज्यान गएको छ । संसारभरको स्वास्थ्य प्रणाली जस्तै नेपालको स्वास्थ्य प्रणालीले पनि महामारीको यो अवस्थामा निकै दबाब झेल्नुपरेको थियो । कोभिड १९ नियन्त्रणका लागि लागु भएको लक डाउनको प्रभाव सबै क्षेत्रमा परेको थियो ।
कोभिड १९ को चपेटामा नेपालका साना तथा मझौला सहरहरुमा सञ्चालन भइरहेका खानेपानी आयोजना पनि प¥यो । तिनलाई पुनः सञ्चालनका क्रममा नेपाल सरकार र विकास साझेदार एसियाली विकास बैंकले कोभिड १९ र यस्तै भविष्यमा आइपर्ने विपक्तिसँग मुकाविला गर्न नयाँ आयोजना सुरु ग¥यो त्यो हो साना र मझौला सहरहरुमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाको प्रवद्र्धनमार्फत् कोभिड १९ रोकथाम तथा नियन्त्रण अयोजना (कोभिड रेस्पोन्स आयोजना) ।
कोभिड र यस्तै संक्रामक रोगसँग जुध्न नेपालको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसाथ यो आयोजना थालनी भएको आयोजना उप निर्देशक मनिना वैद्य बताउँछिन् । विपद् उत्थानशील विकासका क्रममा यी १५ शहरहरुमा २० वटा सुविधासम्पन्न बहुउद्देश्यीय विपद् प्रतिरोधी भवनहरुको निर्माण सम्पन्न भएको छ । मेचीदेखि महाकाली सम्म यी भवनहरुमा अक्सिजन सहितका ३२० शैय्याहरु उपलब्ध छन् । करिब ३९ करोडमा बनेका यी भवनहरु स्थानीय पालिकाहरुलाई हस्तान्तरण गरिएको वैद्यले जानकारी दिइन । मेचीनगर, बराहक्षेत्र, लालबन्दी, वीरगञ्ज, भरतपुर, सूर्यविनायक, विदुर, पोखरा, बुटवल, राप्ती गाउँपालिका, नेपालगञ्ज, गुर्भाकोट, टीकापुर, धनगढी र भीमदत्तमा यी भवनहरु निर्माण भई सञ्चालनमा आएका छन् ।
कोभिड र यस्तै प्रकारका विपक्तिका लागि यस्ता संरचनाहरु निर्माण भएका हुन् । एकै प्रकारको डिजाइन रहेका यी भवनमा आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक सबै पूर्वाधारहरु छन् । यी संरचनाहरुले विपद् प्रतिकार्य गर्नका लागि स्थानीय अस्पतालहरुको चापलाई कम गरी उत्थानशील सहयोगमा सहायता गर्ने विश्वास लिइएको छ ।
“कोभिड र यस्तै महामारीबाट नागरिकहरुलाई जोगाउनु राज्यको दायित्व हो । हाम्रा कमजोर पूर्वाधारहरुका कारण विगतमा कोभिडका बेला होल्डिङ सेन्टर, क्वारेन्टाइन स्थलको अभाव, अक्सिजनको कमिका कारण धेरै नागरिकहरुले ज्यान गुमाउनु प¥यो, अब यी संरचनाहरुले गर्दा यस्ता विपक्तिमा जुध्न सजिलो हुन्छ” उप निर्देशक वैद्य भन्छिन् ।
कोभिड नियन्त्रणका क्रममा सार्वजनिक स्थल, विद्यालय र खुल्ला चौरहरुलाई होल्डिङ सेन्टर र क्वारेन्टाइनस्थल त बनाइयो तर त्यहाँ बस्नसक्ने आधारभूत सेवाहरु जस्तै शौचालय, खानेपानी आदिको समस्या थियो । अब त यी शहरमा ती समस्या केही हदसम्म कम हुनेछ ।
शौचालयको समस्यालाई निराकरण गर्न सरकारले यस्ता ठाउँहरुमा उपयोगी हुने घुम्ती शौचालयको डिजाइन गरी यी नगरहरुमा ३० वटा घुम्ती शौचालयको पनि व्यवस्था गरेको छ । ट्याक्टरले एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने यस्ता शौचालयहरु भीडभाड भएका ठाउँहरु, हाटबजार आदिका लागि उपयोगी भएका छन् । यस्ता शौचालयमा छतमा एक हजार लिटर पानी ट्यांङ्कीका साथै महिला र पुरुषका छुट्टाछुट्टै कक्षहरु छन् । अपाङ्गमैत्री यी शौचालयहरुमा हात धुने सुविधाहरु पनि उपलब्ध छन् ।
धेरै नगरहरुले अहिले यी भवनहरुलाई नगरको आधारभुत अस्पतालको रुपमा विकास गरिरहेका छन् । सूर्यविनायक, नेपालगञ्ज, टीकापुर, धनगढी लगायतका शहरमा यस्ता नगर अस्पताल स्थापना कार्य सुरु भइसकेको छ । यसले संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवाको सुनिश्चिततामा कोसेढुंगा हुने दावी कोभिड रेस्पोन्स आयोजनाको छ ।
हात धुने बानीको विकासले यस्ता रोगहरु लाग्नबाट बचाउन सकिन्छ । यसको प्रवद्र्धन गर्ने क्रममा आयोजनाले यी सहरका १ सय २८ स्थानहरुमा हात धुने स्थल निर्माण पनि गरेको छ । हात धुने र स्वस्थ बानीको विकासका लागि विभिन्न प्रकारका सचेतना कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
नारदमणी बास्तोला