शीर्षकहरू

दशैंका लागि स्वस्थ खसी छान्ने तरिका जान्नुहोस्, यस्ता खसी किन्दै नकिन्नुहोस्

दशैंका लागि स्वस्थ खसी छान्ने तरिका जान्नुहोस्, यस्ता खसी किन्दै नकिन्नुहोस्

काठमाडौ । दशैं नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ । अन्य समयमा भन्दा दशैँमा धेरै मासु खाइन्छ । दशैंमा मासु उपभोग गरिने चौपायाको कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । यसैले, यो बेलामा हामीले कस्तो मासु खाने भनेर थाहा पाउन जरुरी छ ।

दशैंको बेला नै अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपायाहरु मासुका लागि बिक्री गर्ने गरिन्छ । दशैंमा तयारी मासुभन्दा सिंगो खसी नै ल्याएर हरेक घरमा छुट्टा छुट्टै काट्ने समेत गरिन्छ । यसरी ल्याइएका सबै चौपया स्वस्थ नहुन पनि सक्छन् ।

दशैंको समयमा ठूलो मात्रामा खसी आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई समेत भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने र कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन सक्छ । त्यसैले खसी किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ।

अहिले दशैंको चहलपहल बाक्लिएपछि काठमाडौं उपत्यका खसी बजारहरुमा छानीछानी खसी किन्नेको भीड लागिसकेको छ । बजारमा सबै प्रकारको खसीबोका पाइने भएकाले धेरै जसो मानिसहरु खसी बजार पुग्ने गर्छन् ।

null

हतारमा खरिद गर्ने, किन्नुअघि राम्रोसँग नहेर्ने हो भने रोगी खसी उपभोग गर्दा स्वास्थ्य समस्या निम्तिने जोखिम बढी हुन्छ । त्यसैले दशैंमा चौपाया वा माछामासु किन्दा समेत विशेष ख्याल गर्नु आवश्यक छ । रोगि खसी परेको अवस्थामा हजारौं मूल्य हालेर किनेर ल्याएको खसीको मासु खाँदा खसिको मूल्य भन्दा बढी उपचारका लागि खर्च गर्नुपर्ने हुनसक्छ ।

मासुको चाडको रुपमा समेत चिनिने दशैंमा मासुका लागि खरीद गरिने खसीबोका स्वस्थ भएन भने मासुका लागि गरिने खर्चभन्दा मासु खाने अस्वस्थ भई त्यो भन्दा धेरै खर्च गर्नुपर्न हुनसक्छ । यसका लागि मासु खरीद गर्दा स्वस्थ पशु खरीदमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

खसीबोका किन्दा के के कुरा ध्यान दिने ?

हामीले खसी वा मासु छान्दा कम बोसो भएको छानौँ । त्यस्तै, नेपालमै उत्पादन भएका खसीबोका किन्दा मासु स्वादिष्ट र कम बोसो भएको पर्छ ।
भारतबाट आयातित खसीबोकाहरू धेरै मोटा हुन्छन्। कतिपयमा सुईसमेत हानेर  छिटो हुर्काएको भनेर पनि हामीले सुन्ने गरेका छौँ । तर, नेपालका किसानले त्यसो गरेका छैनन्। गाउँघरमा घाँस, पानी र दाना खाएर हुर्किएका खसी काठमाडौंमा आउँछन् ।

त्यस्तै, खसी किन्दा कान छेडेको छ वा छैन हेरौँ।  कानमा चिह्नहरू पनि लगाइएको हुन्छ । त्यसमध्ये हरियो चिह्न लगाएको खसी रौजौँ। पशु सेवा विभागले यो खसी खानको लागि उपयुक्त छ भनेर चिह्न लगाउने गर्छ । कतिपय खसी बिरामी वा रोगी छन् भने तीनको कानमा रातो ट्याट लगाइएको हुन्छ ।

सामान्यत पशुहरूमा जीवाणु, विषाणुको संक्रमण भइरहेको बेला वा अन्य रोगहरूले सक्रमित भइरहेका बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौं ठाडो पारी फुलेर जिङग्रिङ्ग देखिने हुनले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन् । त्यसैले त्यस्ता खसीबोका किन्नु हुँदैन ।

नेपालका सबै पशु हाट बजार र खसीबजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयबाट नियमित अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशुपन्छीहरू बाटोमा बिक्री गरिनेभन्दा स्वस्थ हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट किन्दा राम्रो देखिन्छ ।

null

यस्ता खसी किन्दै नकिन्नुहोस्

खसीको लक्षण हेरेर नै कस्तो कुन खसी स्वस्थ छ कुन रोगि छ भन्ने पत्ता लगाउन सकिन्छ । केही कुरामा ख्याल गर्ने हो भने मात्रै पनि खसीको शरिरमा देखिने शारिरीक लक्षण हेरेरै नै उपभोगयोग्य भए नभएको पत्ता लगाउन सकिन्छ । खसीमा यस्ता लक्षण देखेमा त्यस्ता खसी नकिन्नुहोस् । 

१. झुम्म परेको देखिने 
२. सिँगान बगेको 
३. चिप्रा लागेको 
४. छाम्दा तापक्रम बढी भएको

खसीमा भएको भित्री रोगको लक्षण अनुसार तीनको शारिरीक चालढाल हुने भएकाले ध्यान दिएर हेरे चौपाया उपभोग योग्य छ कि छैन भन्ने थाहा हुन्छ।

सिङ हेरेर नै पत्ता लगाउन सकिन्छ स्वस्थ खसी

पशु स्वास्थ्य निर्देशनालयले उपत्यकामा छिर्ने प्रमुख नाकामा पशु चिकित्सक राखेर चौपायाको स्वास्थ्य परीक्षण गरी निर्देशनालयले रंग लगाउने गरेको छ। स्वस्थ र उपभोगयोग्य चौपायाको सिङमा हरियो रंग तथा विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगाईएको हुन्छ ।

त्यसैले खसी किन्दा हरियो रङ लगाएको, सिँगान नबगेको, खसीको आँखामा चिप्रा नलागेको, र खसीको जीउको तापक्रम ठीक भएको खसी छानेर किन्दा स्वस्थ खसी पर्ने सम्भावना बढी हुन्छ ।

कति छ काठमाडौंको बजारमा खसीबोको भाउ ?

अहिले जिउँदो खसी प्रतिकेजी ७ सय रुपयाँ तथा काटेको मासुको मूल्य अहिले १३ सय रुपैयाँ रहेको छ । त्यस्तै च्यांग्राको मासुको मूल्य जिउँदोकै प्रतिकेजी १२ सय ५० रुपैयाँ रहेको छ । यो मूल्य पनि घटबढ हुन सक्छ ।

हाल नेपालमै उत्पादन गरिएका खसीबोकाले दशैँको वेला बजार धान्न सक्ने अवस्था हुन थालेको छ । किनभने, करिब ६० प्रतिशत नेपालकै उत्पादनले पुग्छ । अन्य ४० प्रतिशत भारतबाट ल्याउनुपर्छ। यसलाई पनि हामीले ध्यान दिएर कृषितिर लाग्ने हो भने रोक्न सक्छौँ र मासुमा आत्मनिर्भर बन्न सकिने अवस्था हुन्छ।

null

हाल काठमाडौंमा भित्री गल्ली र चोकबाट पनि खसी बिक्री वितरण गरिन्छ । कलंकीको खसी बजार र टुकुचा खसी बजारमा सबैभन्दा बढी खसी ल्याइन्छ र यहाँबाट खुद्रा बिक्री हुन्छ । कतिपय किसानले बाटोबाटै पनि बिक्री वितरण गर्छन्। 

हाल बजारमा विभिन्न ठाउँबाट खसीहरु ल्याइन्छ र बिक्री वितरण गरिन्छ। गाउँघरबाट ल्याइएका खसीबोका सहरबाट बिक्री हुन्छन्। बाटैमा पनि किनबेच हुन्छ। तर, त्यसरी नकिनौँ । किनभने सबै खसी स्वस्थ हुँदैनन्। आधिकारिक बिक्री केन्द्र वा बजारमा पुगेर किनबेच गर्दा स्वास्थ्य चाँज गरेका खसीबोका पाइन्छ।