अबुधावी युएई। संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे कुराकानी गर्दै दूतावासको धारणा राखेका छन।
राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि हो। उनले भने, “युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिषामा कडाई हुन सक्ने देखिन्छ।”
क्षेत्रीका अनुसार, युएई सरकारले भिषा कडाई गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त नभएको तथा देशको सुरक्षाको दृष्टीले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्छ । उनले विश्वास व्यक्त गर्नुभयो कि नेपालमा छिट्टै शान्ति र अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसा नीतिमा फेरि सहजता हुनेछ। युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशिल, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको बताए।
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगि र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरे। भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ। “हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उनले भने।
क्षेत्रीले नेपालीनागरिकहरूलाई सचेत गराउदै भन्नुभयो, “युएई रोजगारीमा आउदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनुन र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ। यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ।” उनले थप सुझाव दिँदै भने कि युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी भएकाले बिभिन्न ठगी मानव बेचवखन तथाअपराधीक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्य कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्याउने संयन्त्र आवश्यक देखिएको उहाँको बताए।
दूतावासका सेवा सुधारबारे कुरा गर्दै राजदूत क्षेत्रीले राहदानी, भीषा, NOC, र अन्य कन्सुलर सम्बन्धी कामलाई छिटो, छरितो तथा प्रभाबकारी सेवा प्रवाह प्रदान गर्न अधिकतम प्रयास भइरहेको जानकारी र्दिए। “आपतकालीन अवस्थाहरू—जस्तै मृत्यु, दुर्घटना वा अस्पताल उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजिकरण गर्न दूतावासले गैर आवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्थाहरूसंग सहकार्य गर्ने प्रणाली बनाएका छौं,” उनले स्पष्ट पारे।
उनका अनुसार, युएईका विभिन्न सहरहरूमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ। साथै, नेपालीबीच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदै छ।
आर्थिकन्यूज