काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले १२ दिनका लागि उक्त रकम खिच्न लागेको हो । \
राष्ट्र बैंकले आज मंगलबार एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता प्रणालीबाट उठाउन लागेको हो । जहाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन पाउने छन् । घटीमा १० करोड र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम बोल गर्न सकिने छ । जसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी कार्तिक २ गते हुने छ ।
यही असोज २१ गते अनलाइन रिडिङ सफ्टवेयरमार्फत बोलकबोल गरिने जनाइएको छ ।
यस्ता छन् अन्य शर्तहरू
१. निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
२. निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
३. संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन । विस्तृत जानकारीका लागि यस विभागको फोन नम्बर ०१ - ५७१९६५९, EXT NO: २८३४, २८३६ मा सम्पर्क गर्न सकिनेछ ।
४. निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
५.निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
६. समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ ।
७. आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।
८. स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।
९. बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
१०. निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ ।
११. निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन । तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।
आर्थिकन्यूज