शीर्षकहरू

बाढी पहिरो तथा जेनजी प्रदर्शनको असर : नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

राजनीतिक अस्थिरता लामो समय कायम रहेमा वृद्धिदर ऋणात्मक

बाढी पहिरो तथा जेनजी प्रदर्शनको असर :  नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष (सन् (२०२५-२६) मा) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।साथै  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा १.५ देखि २.६ प्रतिशतसम्म संकुचनको सम्भावना पनि रहेको उल्लेख गरेको छ । 

विश्व बैंकले मंगलबार सार्वजनिक गरिएको साउथ एसिया डेभलपमेन्ट अपडेटले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि भएको नेपाली अर्थतन्त्रमा यस वर्ष ४.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । तर जेनजी प्रदर्शन, बाढी पहिरोलगायतका विभिन्न कारणले वृद्धिदर घटेर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । त्यसपछि अर्थात आगामी आर्थिक वर्ष भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैंकको अनुमान छ।

विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछि ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । चालु आर्थिक वर्षमा ३.१ प्रतिशत तथा आगामी वर्ष ०.८ प्रतिशतले आर्थिक वृद्धिदरमा कमी आउने विश्व बैंकको प्रक्षेपण छ  । 

साथै विश्व बैंकले आगामी आर्थिक वर्ष (२०२५-२६) मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने प्रक्षेपण समेत गरेको छ । हालको राजनीतिक अस्थिरता, लगानी अवरोध र पर्यटन क्षेत्रमा आएको धक्काका कारण अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको हो। राजनीतिक तथा सामाजिक अस्थिरता लामो समय कायम रहेमा वृद्धिदर ऋणात्मक भइ –१.५ देखि –२.६ प्रतिशतसम्म पुग्नसक्ने जोखिम रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले खासगरी विदेशी पर्यटकको आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने जनाएको छ। अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउँदा होटल, यातायात र सेवा उद्योगमा नोक्सानी बढ्ने अनुमान गरिएको छ । साथै, सम्पत्तिमा भएको क्षतिका कारण बीमा क्षेत्रमा पनि ठूलो नोक्सानी हुने सम्भावना औँल्याइएको छ । साथै, लगानीकर्ताको विश्वास कमजोर हुँदै गएको, निजी लगानी तथा गैर–जलविद्युत निर्माण क्षेत्रमा गिरावट आउँदै गएको उल्लेख गरेको छ। त्यसैले निकट भविष्यमा रोजगार र उत्पादन क्षेत्र दुवै प्रभावित हुने चेतावनी समेत दिएको छ । 

तर, पुनर्निर्माण र सुधारका प्रयासले आर्थिक वर्ष २०२६-२७ देखि क्रमशः सुधारको चरण सुरु हुने र २०२७-२८ मा वृद्धिदरले पुनः गति लिने अनुमान गरिएको छ। आर्थिक वर्ष २०२७-२८ मा भने नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हासिल हुने विश्व बैंकको अनुमान छ ।

यस वर्ष दक्षिण एसियाको समग्र वृद्धिदर ६.६ प्रतिशत रहने विश्व बैंकले जनाएको छ, तर आगामी वर्ष २०२६ मा यो घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण अन्य दक्षिण एसियाली मुलुकको तुलनामा कम हो । यस आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण छ ।

यस्तै, भुटानको आर्थिक वृद्धिदर ७.३ प्रतिशत, भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, मालदिभ्सको ३.९ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा बढी भुटानको (७.३ प्रतिशत) र सबैभन्दा कम नेपालको (२.१ प्रतिशत) आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ।

null