शीर्षकहरू

लगानी गर्न नसकेको पौने ८ खर्ब राष्ट्र बैंकमा थुप्रियो, २.७५ प्रतिशत ब्याजदरमा पैसा राख्दै बैंकहरु

तरलता व्यवस्थापनका राष्ट्र बैंकलाई सकश, आज पनि २० अर्ब तान्दै

लगानी गर्न नसकेको पौने ८ खर्ब राष्ट्र बैंकमा थुप्रियो, २.७५ प्रतिशत ब्याजदरमा पैसा राख्दै बैंकहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको झण्डै ८ खर्ब रुपैया नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले पछिल्लो समय दैनिकजसो तरलता प्रशोचन गर्दै आएको छ । बैंकहरुले लगानी गर्न नसकेको रकम २.७५ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखिरहेका छन् ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरुबाट पैसा तान्ने गर्छ।

राष्ट्र बैंकका अनुसार असोज २१ गते मंगलबारसम्म  केन्द्रीय बैंकमा बैंकहरुले लगानी गर्न नसकेको ७ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ जम्मा भएको छ । यसअवधिसम्म निक्षेप संकलन मार्फत ७४ अर्ब ५५ करोड तथा स्थायी निक्षेप सुविधा एसडिएफ अन्तर्गत ६ खर्ब ९२ अर्ब ५० करोड केन्द्रीय बैंकमा जम्मा भएको हो । एसडिएफको रकम भने बुधबार परिपक्क हुँदैछ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको हालसम्म निक्षेप संकलन उपकरण मार्फत ६ खर्ब ६३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गरेको छ । जसमध्ये ७४ अर्ब ५५ करोड परिपक्क हुन बाँकी छ । असोज २१ गते मात्र केन्द्रीय बैंकले ९० अर्ब बराबरको १२ दिने निक्षेप संकलन उपकरण जारी गरेकोमा ११ बैंक तथा वित्तीय संस्थाले १५ आवेदन मार्फत ७४ अर्ब ५५ करोड राखेका छन । जसको औसत ब्याजदर २.७४ प्रतिशत कायम भएको छ । यो रकम आगामी कात्तिक २ गते परिपक्क हुने छ । त्यस्तै आज पनि केन्द्रीय बैंकले ११ दिनको लागि २० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोरको तल्लो सीमा घटाएपछि बैंकहरुले निक्षेप संकलन उपकरणमा राख्ने ब्याजदर समेत घटेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेसँगै सस्तिएको दरमा निक्षेप संकलन गर्न थालेको हो। गत असारसम्म बैंकहरुले न्यूनतम २.९९ प्रतिशतसम्म ब्याज पाउँदै आएका थिए । नयाँ आर्थिक वर्ष लागेपछि निक्षेप संकलन दर पनि घटेको हो।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको पौने ८ खर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा राखेको उक्त रकम केन्द्रीय बैंकमा रहेको छ । कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । पछिल्लो समयमा रेमिट्यान्समा आएको सुधारले पनि बैंकिङ प्रणालीको निक्षेप बढ्दै गएको हो । गत आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीमा जोड गरेकाले पनि लगानीयोग्य रकम थपिदै गएको हो । 

पछिल्लो समयमा जेनजी प्रर्दशन, बाढी, पहिरो लगायत तथा देशको राजनैतिक अवस्थाले पनिलगानीको वातावरण धुमिल बनेको छ । यसले आगामी दिनमा बित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहने देखिन्छ । गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्या बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलताको अवस्था, अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्ने गर्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउने गर्दै आएको छ।