काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी प्रदर्शनबाट भएको क्षतिको पुनर्निर्माणका लागि सरकारलाई सहयोग गर्न बीमा कम्पनीहरुलाई कानुनी बाटो खुला गरिदिएको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८२ को दोश्रो संशोधन गर्दै सहयोगको लागि बाटो खुला गरिदिएको हो । निर्देशिका शंसोधन पछि बीमकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सरकारलाई सहयोग गर्न सक्ने भएका छन् ।
संशोधन गरिएको निर्देशिकामा बीमकको संस्थागत सम्बन्धी निर्देशिकाको दफा ४५ को उपदफा (२) मा खण्ड (घ) पछि खण्ड (ङ) थपेको छ । जसमा ‘प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च’ भनी उल्लेख गरिएको छ । यस अघि यस्तो खालको खर्चका लागि प्राधिकरणले कुनै व्यवस्था गरेको थिएन ।
निर्देशिकाको दफा ४५ मा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार बीमकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था छ ।
कोषमा जम्मा भएको रकम वार्षिक योजना तथा कार्यक्रम बनाई सामाजिक परियोजनाहरूमा खर्च गर्न सकिनेछ । सामाजिक परियोजना भित्र शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रममा बीमा कम्पनीले खर्च गर्न सक्नेछन् ।
यस्तै, प्रत्यक्ष अनुदानका लागि पनि कोषको प्रयोग गर्न सकिनेछ । अति विपन्न तथा सीमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च प्रत्यक्ष अनुदान खर्चमा राख्न सकिनेछ । गरिबी न्यूनीकरणका लागि पनि कोषको रकम खर्च गर्न सकिने निर्देशिका उल्लेख छ । यस शीर्षक अन्तर्गत नेपाल सरकारको गरिबी न्यूनीकरण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गका प्राकृतिक प्रकोपबाट हुने सक्ने क्षतिको बीमाद्धारा रक्षावरण गर्दा हुने खर्च पर्छ ।
आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्चमा पनि कोषको प्रयोग गर्न सक्ने व्यवस्था छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबाट भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले देश र विदेशमा भएको नेपालीलाई आर्थिक सहयोग गर्न आवहान गरेको छ । यसै क्रममा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुनर्निर्माणको कार्यमा सहयोग गर्न सहज होस भनि निर्देशिकामा नै यस्तो व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।
आर्थिकन्यूज