शीर्षकहरू

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४ करोड ३० लाख अमेरिकन डलर स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा  नेपाललाई   ४ करोड ३० लाख अमेरिकन  डलर स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविधा (इसीएफ)  अन्तर्गत छैटौं समीक्षा पूरा गरेको छ।  गत आश्विन  १५ गते सम्पन्न यस समीक्षाले  नेपाललाई ४ करोड ३० लाख अमेरिकन  डलर  निकासा गर्न अनुमति दिएको  छ । योसँगै मुलुकले इसीएफ अन्तर्गत प्राप्त गर्ने कुल रकम ३४ करोड १२  लाख अमेरिकन  डलर पुगेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष अनुसार नेपालले यस  विस्तारित कर्जा सुविधा अन्तर्गत सुधार कार्यक्रमहरुको कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको छ।यसले देशको समग्र अर्थतन्त्रलाइ चलायमान गर्दै  आर्थिक स्थायित्व सुनिश्चित गरेको कोषको ठम्याई छ।

यस बहुपक्षीय  संस्थाले   नेपालको राजनीतिक परिदृश्यमा भ्रष्टाचार र कुशासन जस्ता समस्या विरुद्ध  जेन जीले गरेको    प्रदर्शन पछि एक ठूलो  परिवर्तन आएको  पनि जनाएको छ ।

"विभिन्न राजनैतिक, सामाजिक र आर्थिक चुनौतीहरूका बाबजुद पनि नेपालको समग्र अर्थतन्त्रको पुनरुत्थानको दिशामा अगाडि बढिरहेको र    यो क्रम चालू आर्थिक वर्ष २०८२/८३  मा जारी रहने  छ। यो सकारात्मक अग्रगतिलाई राष्ट्रिय बजेटमा  पुँजीगत खर्च  वृद्धि  गर्ने एवं  निजी क्षेत्रको मनोबल  बढाउने गरिएका व्यवस्थाका साथै लचिलो मौद्रिक नीतिले सहयोग गरिरहेको छ," कोष बताँउदछ ।

मुद्रास्फीति नेपाल राष्ट्र बैंकको करिब ५ प्रतिशत लक्ष्य भित्र रहने अपेक्षा गर्दै कोषले देशको उत्पादकत्व, आयात, राजस्व परिचालन र  पूर्वाधारजन्य लगानी जस्ता क्षेत्र सुधारोन्मुख  रहेको जनाएको छ। यति हुँदा हुदै पनि कोषले नेपालको अर्थतन्त्र  पूर्ण रुपमा जोखिमरहित भने  नभएको तर्फ सचेत गराएको छ।

"नेपालको आर्थिक वृद्धिको  मुख्य  चुनौतीहरु  पुँजीगत खर्चको फितलो कार्यान्वयन, वित्तीय क्षेत्रका कमजोरी, प्राकृतिक प्रकोप, सामाजिक असन्तोष, राजनीतिक अनिश्चितता, र विश्वव्यापी व्यापार तनाव  हुन।  यिनीहरुको यथोचित सम्बोधन अत्यन्त महत्त्वपूर्ण छ,"।