काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग खेल्दैछ । ओमानमा आजदेखि सुरु हुने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग भिड्न लागेको हो ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ । नेपालसहित ९ देश सहभागी रहेको टी-२० विश्वकप छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ ।
टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो । नेपाललाई कुवेतले हराइसकेको भएकाले कमजोर आँक्न भने उपयुक्त हुँदैन ।
पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । जसको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुन पुगेको थियो। पछिल्लो समय कुवेती टोली पनि कमजोर देखिएको छैन। विश्वकप छनोट खेल्नुअघि ओमानमा खेलिएका दुई अभ्यास खेलमा पनि कुवेत विजयी भएको थियो ।
छनोट खेलहरुमा नेपालको प्रतिस्पर्धा यूएई, ओमान, मलेशिया र पपुवा न्यूगिनीसँग हुने छ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । जापान र नेपाल पहिलो पटक खेल्दै छन् । यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
प्रत्येक समूहबाट दुई–दुईवटा टोली अघिल्लो चरणमा पुग्ने छन्। ’सूपर सिक्स’मा भने समूह चरणमा खेलिसकेका टोलीहरूबीच फेरि प्रतिस्पर्धा हुँदैन। ’सूपर सिक्स’बाट शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छानिने छन्। ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काट्ने छन् ।
सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ । हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् ।
छनोट खेलमा सहभागी हुन ओमान जानुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, “विगतमा जस्तो हामी विश्वकप खेल्न १० वर्ष लगाउँदैनौँ। हाम्रो लक्ष्य विश्वकपमा लगातार छनोट हुनु हो।“
नेपालले यसपालि विश्वकप छनोटको लागि बलियो तयारी गरेको देखिएको छ । केही साताअघि नेपाल टेस्ट क्रिकेट खेल्ने टोली टेस्ट इन्डिजसँगको भएको तीन खेलको शृङ्खलामा २-१ ले विजयी भएको थियो। त्यस्तै, नेपालले ओमानको मैदानमा आयोजित दुई अभ्यास खेलमा ओमान र कतारलाई सहजै पराजित गरेको थियो ।
नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकप खेलेको थियो । त्यसपछि दोस्रोपटक खेल्न नेपालले १० वर्ष लगायो । सन् २०२२ को छनोट प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग पराजित भएर नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । लगातार दोस्रोपटक विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली ओमानमा छ ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिने छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्ने छन् । फेरि सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिने छ । जसबाट चार टोली सेमिफाइनलमा पुग्ने छन् ।
हालसम्म भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले एक एक पटक उपाधि चुमेका छन् । यस्तै पाकिस्तान र श्रीलंका दुई पटक तथा अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका एक एक पटक उपविजेता बनेका थिए।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी
सुरेन्द्र थापा