शीर्षकहरू

बजार खुलेको केहीबेरमै नेप्से ४ प्रतिशतले बढेपछि  सकारात्मक सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

बजार खुलेको केहीबेरमै नेप्से ४ प्रतिशतले बढेपछि  सकारात्मक सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको केहीबेरमै नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। नेप्से सूचक १०२.४१ अंक  बढेपछि २६६२ को बिन्दुमा पुगेको छ ।

अब बजार ११ बजेर २३ मिनेटमा खुल्ने छ। सोपश्चात थप एक प्रतिशत बढेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ।

नेपाल राष्ट्र बैंकले बुधबार मात्रै व्यक्तिगत शेयर कर्जामा अधिकतम २५ करोडको सीमा हटाएको छ । यो व्यवस्था हटाउँदा शेयर कर्जामा बृद्धि भई लगानीकर्ताको मनोबल अभिवृद्धि हुने अपेक्षा गरिएको थियो । यसले आजको बजार बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन । 

साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि शेयरमा लगानी गर्न पाउने भएका छन् । यसअघि नेप्सेमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो । त्यो एक वर्षको अवधि घटाएर ६ महिना बनाइएको छ ।

यसरी किनेको एक वर्ष व्यतित भएका लगानीमध्ये एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले खारेज गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न कार्यदलले सुझाएको थियो । लगानीकर्ताको विभिन्न संघ संस्थाले यो व्यवस्था हटाउन माग गर्दै आएका थिए ।

यी व्यवस्थाका कारण शेयर बजार बढ्न नसकेको निष्कर्षका आधारमा राष्ट्र बैंकले उल्लिखित व्यवस्था गरेको हो । यसले शेयर कर्जाको माग बढ्ने हुँदा शेयरबजारसँगै अर्थतन्त्र समेत चलायमान हुने अपेक्षा सरकारको छ । राष्ट्र बैंकले लगानीकर्ताको मुख्य माग पुरा गरेपछि बजारमा सुधार हुने लगानीकर्ताको बुझाइ छ ।

null