शीर्षकहरू

व्यवसायीले अर्थमन्त्रीलाई भेटेपछि बढ्यो सुन आयातको कोटा, भन्छन, 'यतिले पुग्दैन'

व्यवसायीले अर्थमन्त्रीलाई भेटेपछि बढ्यो सुन आयातको कोटा, भन्छन, 'यतिले पुग्दैन'

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएको छ । केन्द्रीय बैंकले एकिकृत परिपत्र २०८१, संशोधन गर्दै दैनिक आयात गर्ने कोटा ५ केजी बढाएको हो । 

यससँगै अब वाणिज्य बैंकहरुले दैनिक रुपमा २५ केजी सुन आयात गर्न पाउने छन् । यस अघि २० केजी मात्र दैनिक आयात गर्न पाउने व्यवस्था थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आयातको कोटा वृद्धि गर्न माग गर्दै आएको थियो सोही अनुसार सरकारले कोटा वृद्धि गरेको जनाइएको छ । 

तर, माग गरेअनुसार भने सुनको आयातको कोटा वृद्धि नगरिएको भन्दै व्यवसायीले असन्तुष्ट जनाएका छन् । सुनको आयातको कोटा दैनिक ४० केजी पुर्याउनु पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईले बताएका छन् । सोही अनुसार अर्थमन्त्री रामेश्वर खनाललाई पनि उनीहरुले बिहीबार भेट गरेर यसबारे बताएका थिए । 

तर, ४० केजी कोटा माग गरेपनि राष्ट्र बैंकले भने २५ केजीसम्म मात्र आयातको कोटा निर्धारण गरेको छ । रसाईलीले भनेर्, दैनिक ४० केजी सुन आयात अनुमति दिनु पर्छ भन्ने हाम्रो माग हो । ४० गुणा ३६५ गर्दा वर्षमा १४ हजार ६०० केजी आयात गर्न दिनुपर्छ । यसो गर्दा धेरै माग हुने सिजनमा हामी ४० केजी भन्दा बढी र कम माग हुने समयमा ४० केजी भन्दा कम आयात गर्दथिउँ ।’

तर, अहिले एक दिन १५ केजी ल्याएको अवस्थामा अर्काे दिन बाँकी रहेको १० केजी थपेर ३५ केजी ल्याउन पनि नपाइने अवस्था रहेको उनको भनाई छ । यसका साथै २५ केजी गुणा ३६५ दिनको सुनले पनि नेपाली बजारको माग धान्न नसक्ने उनको भनाई छ । 

कति हुन्छ नेपालमा सुनको खपत ?

नेपालको दैनिक सुनको माग ३० केजी रहेको उनले बताए । तर, सिजनमा त्यो भन्दा धेरै माग हुने र अफसिजनमा १० केजीसम्म माग हुने गर्दछ । यस अवस्थामा अफसिजनमा दैनिक १० केजी सुन ल्याउने र बाँकी २० केजी सुन सिजनमा थप गरेर ल्याउन नपाइने भएकाले व्यवसायीहरुलाई समस्या परेको मात्र छैन तस्करी समेत बढेको अवस्था छ । 

दैनिक ३० केजीको हिसावले ३६५ दिनमा १० हजार ९५० केजी हुन्छ । अर्थात, नेपाल वार्षिक सुन खपत १० हजार ९५० केजी हुन्छ । तर, हालसम्म २० केजीका दरले मात्रा आयात हुँदै आएको अवस्था छ । त्यसमा पनि महिनाको २० दिन मात्रै आयात हुन्छ । यसले गर्दा वर्षमा ४८ सय केजी मात्रै आयात हुने अवस्थामा बाँकी अपुग सुन पुरै भारतबाट तस्करी भएर आउने गरेको अध्यक्ष रसाईली बताउँछन् । 

भन्सारका कारण भारतबाट तस्करी हुन्छ

भारतमा सुनको भन्सार दर ६ प्रतिशत रहेको छ भने नेपालमा १० प्रतिशत रहेको । अर्थात भारतभन्दा नेपालमा ४ प्रतिशत धेरै भन्सार रहेको छ । आजको सुनको मूल्य २ लाख ३५ हजारको दरले हिसाव गर्दा भारत भन्दा नेपालमा प्रतितोला सुन ९ हजार ४०० रुपैयाँ धेरै महँगो छ । 

यही रकम फाइदाका लागि भन्सार छली गरेर नेपाल आयात गर्ने हुन्छ । तस्करी बढछ । यसका साथै नेपालको सिमाना क्षेत्रमा भारतीयहरुले नेपालीले लगाउने गहनाहरुको डिजाईन उपलब्ध हुनेगरी सुनको पसल खोलेर बसेका हुन्छ । सिमा क्षेत्रका जनताहरुले उक्त ९ हजार ४ सय सस्तो पाउनका लागि सिमा पारि भारतमा गएर गहना किनेर ल्याउँछन् । यसले गर्दा व्यवसायीलाई मात्रै होइन्, सरकारको राजस्वमा नै असर पुग्छ ।

यदि सुनको भन्सार भारतकै सरह ६ प्रतिशत कायम गर्दा तस्करीको बाटोबाट आएको सुन पनि भन्सार हुँदै आउँछ । जसले भन्सार वृद्धि हुन्छ । यसैगरी, सिमाना पारि गएर खरिद गर्ने नेपाली ग्राहकले आफ्नै देशमा नै खरिद गर्दछन् । जसले गर्दा व्यापार पनि बढ्छ, सँगै राजस्व पनि । 

पछिल्लो समय बढेको-बढै छ सुनको भाउ 

पछिल्लो समय सुनको भाउ लगातार वृद्धि भइरहेको छ । दशैँ पछिमात्रै प्रतितोला सुनको भाउ करिब १२ हजार रुपैयाँले वृद्धि भएको छ । दशैँ अघि असोज १२ गते तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
लगातार वृद्धि हुँदै गएको सुनको मूल्यले हिजो नयाँ कीर्तिमान कायम गरेको थियो । तोलाको २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएर सुनको भाउले एैतिहासिक रेकर्ड राखेको थियो । 

विश्वका विभिन्न देशबीचको युद्ध हुनुको कारणले पनि सुनको भाउ वृद्धि हुन पुगेको हो । अमेरिकी डलरको मूल्य बढ्नु, धेरै देशहरुको केन्द्रीय बैंकले ब्याजदर घटाउनु, विश्व बजारमा देखिएको उच्च मुद्रास्फीतिका लगायतका कारणले सुनको मूल्य लगातार बढेको हो ।