काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोडबाट निर्जीवन बीमा कम्पनीमा परेको दाबी रकममध्ये बीमा कम्पनीहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज २३ गतेसम्म बीमा सर्भेयरहरुले ३७४ वटा सर्भे प्रतिवेदन पेश गरेका छन् । सो अवधिमा सर्भेका लागि कम्पनीहरुले दुई हजार ७१० सर्भेयर परिचालन गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सो अवधिमा बीमा कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख बीमा दाबी परेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार ९९ वटा पोलिसीमा दाबी परेको छ ।
कुल बीमा दाबीमध्ये सम्पत्ति बीमा तर्फ ६५३ वटा दाबी परेको छ । दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रहेको छ । सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले करिव १ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् । सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि कम्पनीहरुले ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएका छन् । हालसम्म ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, मोटर बीमामा दुई हजार २०६ वटा दाबी परेको छ । दाबी रकम करिव तीन अर्ब ४१ करोड ६ लाख रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव २४ करोड ९१ लाख दाबी भुक्तानी भएको छ । प्रदर्शनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि एक हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको छ ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ । दाबी रकम करिव ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । प्रदर्शनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् ।
यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव एक करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् ।
अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन गरी रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए ।
आर्थिकन्यूज