काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्तासँगै कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) असक्षम भएको भन्दै कमर्चारीहरूले पनि राजीनामा माग गरेका छन् ।
बीमितलाई दिइने बोनस ५० रुपैयाँ बनाइनु पर्ने र सिईओले राजीनामा दिनुपर्ने भन्दै कम्पनीका अभिकर्ताहरु गत बुधबार देखि आन्दोलनमा थिए । आन्दोलनमा रहेका अभिकर्तासँग वार्ता गरी समस्या समाधान गर्नुको साटो सिईओले केही अभिकर्तालाई प्रलोभनमा पारी अभिकर्ता अभिकर्ता बीच द्वन्द्व सृजना गरे भन्दै कर्मचारीहरुले आक्रोश पोखेका छन् ।
कम्पनीले कर्मचारीहरु तथा अभिकर्ताहरु बीचमा विभेदकारी व्यवहार गर्दै आएको र हाल केही अभिकर्ताहरु तथा कर्मचारीहरु परिचालन गरी कर्मचारी कर्मचारी बीच तथा अभिकर्ता अभिकर्ताबीच द्वन्द्व सृजना गरेको कर्मचारी संघको आरोप छ । सिईओेले संगठनलाई बदनाम गर्ने नियतका साथ विभिन्न लाञ्छनाहरु लगाई परिस्थितिलाई झन् जटिल र व्यवस्थापनको नियन्त्रण भन्दा बाहिर पुर्याउने घृणित क्रियाकलापहरु गरेको कर्मचारीहरुको आरोप छ । तसर्थ हालको सिईओबाट कम्पनी अघि बढ्न नसक्ने भन्दै कर्मचारीहरुले सिईओको राजीनामा माग गरेका छन् ।
संघले सिईओलाई कार्यालय प्रवेशमा निषेध गरेको छ । संघले आयोजना गरेको यस निषेध कार्यक्रमको अवज्ञा गरी जबर्जस्ती कार्यालय प्रवेश गर्ने प्रयत्न गरेमा यसबाट उत्पन्न हुने सम्भाव्य घटनाहरुको जिम्मेवार स्वयं सिईओ हुने संघले जनाएको छ । कार्यालय अगाडि धर्ना दिएका कर्मचारीले कम्पनीका विभागीय प्रमुखलाई पनि कार्यालय प्रवेश गर्न दिएका छैनन् ।
६ दिन देखि आन्दोलनमा अभिकर्ता
हिमालयन लाइफका अभिकर्ताहरु विगत ६ दिन देखि आन्दोलनमा छन् । गत शुक्रबार आन्दोलनरत अभिकर्ता र कम्पनीका सञ्चालक बीच वार्ता भए पनि सफल हुन सकेन । त्यसपछि भने अभिकर्तासँगै कम्पनीका कर्मचारी पनि आन्दोलनमा उत्रिएका हुन् । ‘भष्ट्रचारी सिईओ राजीनामा दे’ नारा सहित उनीहरु धर्नामा बसेका छन् ।
अभिकर्ताले आन्दोलनको पहिलो दिन कार्यालयमा धर्ना दिएका थिए । कार्यालयमा नै धर्ना दिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण कार्यालयमा नै उपस्थित भएका थिएनन् । प्रमुख कार्यकारी अधिकृत कार्यालयमा नआएपछि अभिकर्ताहरुले कार्यलयको मुख्य गेट नै बन्द गरी दिएका थिए ।
साँझसम्म कम्पनीका कर्मचारी कार्यालयमा नै बन्धक बनेपछि प्रमुख कार्यकारी अधिकृण कर्ण राती नौ बजे प्रहरीको स्कटिङग सहित कार्यालय पुगेका थिए । कार्यालय पुगी कम्पनीका सञ्चालकसँग वार्ता गराउने अभिकर्ताहरुलाई आवश्वासन दिएका थिए । तर, बिहीबार पनि कम्पनीका सञ्चालकसँग अभिकर्ताको वार्ता भने हुन सकेन । सिईओ कर्णले प्रतिबद्धता गरे अनुसार सञ्चालकसँग वार्ता नगरेपछि शुक्रबार विहानै देखि अभिकर्ताले कार्यालयमा धर्ना दिएका छन् । त्यसपछि शुक्रबार दिउँसो एक बजे देखि वार्ता सुरु भएको थियो । वार्तामा अभिकर्ताको तर्फबाट सात जना प्रतिनिधि थिए । बेलुका ५ बजेसम्म बसेको वर्ता भने सफल हुन सकेन । वार्ता सफल नभएपछि अभिकर्ताहरु थप आक्रोशित भएका थिए ।
अभिकर्ताकहरुले बीमितलाई भुक्तानी गरिने बोनसदर न्यूनतम ५० रुपैयाँ बनाउनु माग गरेका छन् । ‘पुराना पोलिसीको बोनसदर एकदमै कम छ । कम्पनी ठूलो भएपनि बोनसदर कम भएपछि हामीलाई बजारमा गएर काम गर्न कठिन भएको छ,’ एक अभिकर्ताले बताए । कमसेकम बीमितले बैंकले प्रदान गर्ने ब्याज सरहको बोनसदर त पाउनु पर्छ । अन्यथा कम्पनीका सिईओले राजीनामा दिनुपर्ने अभिकर्ताहरुको माग छ । ‘अन्य कम्पनी सरह बोनस बनाउन नसक्ने सिईओ हामीलाई स्वीकार्य छैन । यस्ता सिईओले कम्पनी डुबाउँछन्,’ एक अभिकर्ताले बताए ।
अभिकर्ताहरुले बीमितको सर्वोपरी हित कायम गर्नुपर्ने, बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने, व्यवस्थापनको लापरवाहीको नियन्त्रण गर्नुपर्ने, बेथितीको अन्त्य गर्नुपर्ने, विभेदकारी नीति अन्त्य गर्नुपर्ने र बीमितको विश्वास माथीको खेलबाड बन्द गर्नुपर्ने माग राखेका छन् । हिमालयन लाइफ मात्रै २७ हजार अभिकर्ता छन् । यसअघिको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । मनोज लाल कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्सको सिईओ थिए ।
आर्थिकन्यूज