शीर्षकहरू

सहकारी दर्ताका लागि प्राधिकरणले तोक्यो नयाँ व्यवस्था, पुँजी अनुसार दस्तुर तोकियो

सहकारी दर्ताका लागि प्राधिकरणले तोक्यो नयाँ व्यवस्था, पुँजी अनुसार दस्तुर तोकियो

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ताका लागि नयाँ व्यवस्था गरेको छ । प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२’ को पहिलो संशोधन गर्दै सहकारी संस्था अनिवार्य रुपमा प्राधिकरणमा दर्ता हुनुपर्ने र पुँजी अनुसार दस्तुर बुझाउनु पर्ने व्यवस्था गरेको हो । 

संशोधित मापदण्ड अनुसार संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित बचत तथा मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्नेछ । सहकारी संस्थाले प्राधिकरणको विद्युतीय प्रणालीमार्फत विवरण प्रविष्ट गर्नु पर्नेछ ।

अभिलेखीकरण हुने सहकारी संस्थाले दस्तुर तोकिएको बैंक खातामा जम्मा गरी सो को भौचर प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ । दर्ता हुने सहकारी संस्थाले प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको मितिले ६० दिनभित्र विद्युतीय प्रणालीमा विवरण प्रविष्ट गरिसक्नु पर्नेछ । तर विशेष परिस्थितिको अवस्थामा प्राधिकरणले समयावधि थप गर्न सक्नेछ ।

दर्ता अभिलेखीकरण हुने सहकारी संस्थाले प्रविष्ट गरेको विवरण रुजु गरी प्रक्रिया पुरा भएका सहकारी संस्थालाई विद्युतीय प्रणाली मार्फत सञ्चालन इजाजतपत्र जारी गर्नेछ । संघ, प्रदेश र स्थानीय सरकारले समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रियामा रहेका सहकारी संस्थालाई दर्ता अभिलेखीकरण प्रक्रियामा समावेश गरिने छैन ।

इजाजतपत्र प्राप्त नगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ । प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र प्राधिकरणले निर्धारण गरेको प्रक्रिया पूरा गरी इजाजतपत्र नवीकरण गर्नु पर्नेछ । 

प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण र इजाजतसँग सम्बन्धित आवश्यक थप विवरण माग गर्न सक्नेछ । माग गरिएको विवरण सम्बन्धित संस्थाले उपलब्ध गराउनु पर्नेछ । मापदण्डमा हेरफेर गर्न सक्ने प्राधिकरणले आवश्यकता अनुसार यस मापदण्डलाई हेरफेर गर्न सक्नेछ । प्रचलित कानून बमोजिम हुने यस मापदण्डमा व्यवस्था भए बाहेक अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।

सहकारी संस्था दर्ता हुनका लागि सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नम्बर, इमेल, कार्य प्रकृति, दर्ता मिति दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्याको विवरण प्राधिकरणका बुझाउनु पर्नेछ । यस्तै, वेबसाइट र सफ्टवेयरको नाम, शेयर सदस्य संख्या र कूल शेयर रकम, कार्यान्वयनमा रहेको विनियम÷कार्यविधि÷ नीतिको नाम तथा जारी मिति, सञ्चालक समितिको विवरण बुझाउनु पर्नेछ । लेखा सुपरिवेक्षण समितिको विवरण, प्रमुख कार्यकारी अधिकृतको विवरण, सञ्चालनमा रहेका इकाई÷सेवा केन्द्रको विवरण, कार्यक्षेत्र, सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर प्रमाणपत्र, अद्यावधिक कर चुक्ता प्रमाणपत्र पनि बुझाउनु पर्नेछ । रकमको आधारमा ठूला १०० शेयर सदस्य, बचतकर्ता र ऋणीको विवरण पनि प्राधिकरणमा बुझाउनु पर्नेछ । 

गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, शेयर पूँजी, सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी, कूल निक्षेप, ऋण प्रवाह, शंकास्पद, खराब तथा कूल ऋण नोक्सानी व्यवस्था, ऋण पुनर्तालिकीकरण, निष्कृय कर्जा रकम र अनुपात, कूल सम्पत्ति र कूल दायित्व, कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च, खुद नाफा÷नोक्सान बुझाउनु पर्नेछ । 

लेखापरीक्षकको विवरण, पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत, गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या, संघहरुसँगको आवद्धताको विवरण, विवरण प्रविष्टी गर्नेको विवरण, विवरण रुजुको विवरण र कार्यकारी प्रमुखको स्वघोषणा पनि बुझाउनु पर्नेछ । 

सहकारी दर्ता गर्दा पुँजीको आधारमा दस्तुर बुझाउनु पर्नेछ । मापदण्ड अनुसार २ करोड रुपैयाँसम्म पुँजी भएको सहकारीले एक हजार रुपैयाँ, दुई करोड देखि १० करोड रुपैयाँसम्म पुँजी भएको सहकारीले तीन हजार रुपैयाँ, १० देखि २५ करोड रुपैयाँसम्म पुँजी भएको सहकारीले पाँच हजार रुपैयाँ, २५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएको सहकारीले सात हजार रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । यस्तै, ५० देखि एक अर्बसम्म पुँजी भएको सहकारीले १० हजार र एक अर्ब भन्दा बढी पुँजी भएको सहकारीले १५ हजारसम्म दस्तुर बुझाउनु पर्नेछ ।