काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा शेयर धितो कर्जा (मार्जिन नेचर लोन) झण्डै ५ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ शेयर धितोमा थप कर्जा प्रवाह गरेका छन् । योसँगै भदौसम्ममा शेयर धितो कर्जा १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा ३.५ प्रतिशतले बढेको हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको यसै अवधिमा भने यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो ।
ठूलो कर्जा बढ्दा सानो कर्जा घट्यो
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा ठूलो आकारको शेयरधितो कर्जा लिनेहरु बढेका छन् भने सानो आकारको कर्जा लिनेहरु घटेका छन् । मार्जिन प्रकृतिको कर्जामा मध्यम प्रकारकारको ऋण लिने सबैभन्दा धेरै बढेका छन् । साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ ।
भदौसम्ममा प्रवाह भएको शेयर धितो कर्जामध्ये १ करोड माथिको कर्जा मात्रै १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ बराबर पुगेको छ । यो गत असारको तुलनामा ३.४ प्रतिशत अर्थात ३ अर्ब ३९ करोड ६१ लाख रुपैयाँले बढी हो । असारसम्म १ करोड माथिको कर्जा लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
यस्तै चालु आवको पछिल्लो दुई महिनामा ५० लाखदेखि १ करोडसम्मको शेयर धितो कर्जा ११.७ प्रतिशतले बढेर १७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो २ महिनामा यो रेन्जमा थप १ अर्ब ८७ करोड कर्जा विस्तार भएको देखिन्छ ।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने १.७ प्रतिशत घटेर १७ अर्ब २६ करोड रुपैयाँ खुम्चिएको छ । २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा पनि घटेको छ । भदौ मसान्तसम्म यस्तो कर्जा ०.८ प्रतिशतले घटेर ८ अर्ब ११ करोडमा खुम्चिएको छ ।
साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ ।
तर, पछिल्लो समयमा जेनजी प्रदर्शनपश्चात देखिएको राजनैतिक अस्थिरता, बाढि पहिरो लगायतले पुर्याएको क्षतिका कारण शेयर लगानीकर्ताहरुको मनोबल अझै फर्कन सकेको छैन् । सरकारले शेयर बजार सुधार कार्यदलले दिएका सुझाबहरु कार्यन्वयन गर्ने क्रममा रहेकाले अबका दिनमा शेयर बजारमा सुधार आउने अपेक्षा भने लगानीकर्तामा रहेको पाइन्छ ।
यतिबेला बैंकहरुसँग लगानी योग्य रकम प्रशस्त छ भने बैंकहरुले ब्याजदर समेत निरन्तर घटाउदै लगेका छन् । यसले लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको हो ।

आर्थिकन्यूज