शीर्षकहरू

निरन्तर ओरालो लाग्दै ब्याजदर, सरकार र निजी क्षेत्रलाई लगानी बढाउने राम्रो अवसर

कर्जाको औसत ७.६६ प्रतिशत कायम हुँदा निक्षेपमा कति पाइन्छ ?

निरन्तर ओरालो लाग्दै ब्याजदर, सरकार र निजी क्षेत्रलाई लगानी बढाउने राम्रो अवसर

काठमाडौं । बैक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागेको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तिर्ने भारित औसत ब्याजदर ७.६६ प्रतिशतमा झरेको छ । यो पछिल्लो १३ वर्षयताकै कम हो । वित्तीय संस्थामा अधिक तरलता र कर्जा प्रवाह खुम्चिए पछि कर्जाको ब्याजदर ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौ महिनासम्ममा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत रहेको छ । यो अघिल्लो आवको सोही अवधिमा तुलनामा पनि १.८७ प्रतिशत विन्दुले कम हो । २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत थियो ।

त्यसैगरी, चालु आवको भदौ महिनामा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९५ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत रहेको छ । गत आवको यसै अवधिको तुलनामा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १.९४ प्रतिशत विन्दु तथा वित्त कम्पनीहरुको १.९५ प्रतिशत विन्दुले घटेको हो ।२०८१ भदौमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको थियो ।

लामो समयसम्म अधिक तरलता कायम हुनु, ब्याजदर न्यून अवस्थामा हुनु र ब्याजदर थप घटाएर अर्थतन्त्र चलायमान बनाउन सक्ने परिस्थिति नहुनुलाई अर्थतन्त्र ‘तरलताको पासो (लिक्विडिटी ट्र्याप) को अवस्थामा रहेको जानकार बताउँछन् । ब्याजदर घटेर हालसम्मकै कम अवस्थामा पुगेको छ ।

ब्याजदर हालसम्मकै न्यून अवस्थामा रहेकाले सरकार र निजी क्षेत्रलाई लगानी बढाउने राम्रो अवसर प्राप्त भएको अर्थविदहरु बताउँछन् । यस्तो बेला सरकारले पनि पूर्वाधारलगायत विकास निर्माण क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरुको सुझाब छ ।

निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै

कर्जाको मात्र होइन निक्षेपको ब्याजदर समेत निरन्तर घट्दै आइरहेको छ । लामो समयदेखि वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको भन्दै पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । 

राष्ट्र बैंकका अनुसार २०८२ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत, विकास बैंकहरुको ४.५८ प्रतिशत र वित्त कम्पनीहरूको ५.७३ प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत, विकास बैंकहरूको ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत कायम भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको औसत आधार दर पनि घटेको छ । २०८२ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२ प्रतिशत, विकास बैंकहरूको ८.०९ प्रतिशत र वित्त कम्पनीहरूको ८.७७ प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरूको ९.१५ प्रतिशत र वित्त कम्पनीहरूको १०.६५ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ भदौमा ३.०० प्रतिशत रहेकोमा २०८२ भदौमा २.७५ प्रतिशत रहेको छ । २०८१ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८९ प्रतिशत रहेकोमा २०८२ भदौमा २.१३ प्रतिशत रहेको छ । 

वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएपछि व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पैसा तानिरहेको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जा माग हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेकाले लामो समयदेखि निरन्तर बजारबाट तरलता प्रशोचन (पैसा झिकिरहेको) गरिएको राष्ट्र बैंकको भनाई छ ।

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले करिब १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह तथा निक्षेप संकलनमा सामान्य बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.८ प्रतिशत रहेकोछ ।

राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड (०.९ प्रतिशत) ले बढेर कुल कर्जा ५५ खर्ब ४६ अर्ब ९४ करोड पुगेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढी ७२ खर्ब ९६ अर्ब ७४ करोड पुगेको छ ।

null