काठमाडौं । बाणिज्य बैंक ७५३ स्थानीय तहमा पुगेको छ । अर्थमन्त्रालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०८१÷८२ सम्ममा सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । गत आवसम्ममा ७५२ स्थानीय तहमा बाणिज्य बैंक पुगेको थियो ।
तथ्यांक अनुसार गत आवसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा ११ हजार ५२६ पुगेको छ । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या ११ हजार ५३० रुपैयाँ थियो ।
वित्तीय पहुँचमा वृद्धि हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरु गत आर्थिक वर्ष वाणिज्य बैंक २०, विकास बैंक १७ वित्त कम्पनी १७ लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक १ गरी २०८२ असारसम्म १०७ नै बैंक तथा वित्तीय संस्था रहेका छन् ।
गत आवमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाहमा भएको वृद्धि न्यून रहेको छ । वार्षिक बिन्दुगत आधारमा २०८२ असार महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ८.४ प्रतिशतले बढेर ५४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । साथै, कुल आन्तरिक कर्जा ७.३ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा ४.६२ प्रतिशत छ । अघिल्लो आवमा भने ४.४५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
कुल कर्जा लगानीमध्ये विपन्न क्षेत्र कर्जा ५.५८ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो कर्जाको हिस्सा ६.०४ प्रतिशत थियो ।
ब्याजदर क्रमशः कम हुँदै गएको छ । २०८२ असार मसान्तमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशत, औसत अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत, वाणिज्य बैंकको औसत आधार दर ६.०२ प्रतिशत, निक्षेपको भारित औसत व्याजदर ४.१९ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.८५ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा बाणिज्य बैंकको निक्षेप र कर्जाको भारित औसत व्याजदर क्रमशः ५.७७ प्रतिशत र ९.९३ प्रतिशत रहेको थियो ।
यस्तै, गत आवको अन्त्यसम्ममा बीमा व्यवसायमा भएको विस्तार एवम् बीमा प्रति नागरिकको सचेतनामा अभिवृद्धि भएको मन्त्रालयको तथ्यांक छ । आव २०८१/८२ मा बीमाको पहुँच ४८.३३ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बीमाको दायरामा आएको जनसंख्या ४३.२७ प्रतिशत रहेको थियो ।
आव २०८१/८२ मा कुल जीवन बीमालेख संख्या १२.६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमालेख संख्या ११.८ प्रतिशतले बढेको छ । सोही अवधिमा बीमा प्रिमियम संकलन १४.८ प्रतिशतले बढेर दुई खर्ब २७ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संकलन एक खर्ब ९७ अर्ब ९७ करोड रहेको थियो ।
आर्थिकन्यूज