काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात १३९.९ प्रतिशतले र अन्य मुलुकतर्फको निर्यात ०.४ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५८.५ प्रतिशतले घटेको छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा कुल वस्तु आयात पनि १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा १.१ प्रतिशत वृद्धि भएको थियो । देशगत रूपमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले बढेको छ ।
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, हवाइजहाज स्पेयर पार्ट्स र दूरसञ्चार उपकरणहरूको आयातमा वृद्धि भएको छ । तर हट रोल्ड सिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन र लसुनलगायतका वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले बढ्दै २५७ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो घाटा १.८ प्रतिशतले मात्र बढेको थियो ।
निर्यात–आयात अनुपात यस अवधिमा १५.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.६ प्रतिशत मात्र थियो । यस अवधिमा भारतबाट अपरिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड रूपैयाँ बराबरको वस्तु आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ अर्ब ९३ करोड रूपैयाँ बराबरको भएको थियो ।
आर्थिकन्यूज