काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने म्याद थप गरेको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशनका लागि ७ दिन समय थप गरेको हो । पहिलो त्रैमास सकिएको १५ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ । यसबिचमा तिहार छड लगायतका चाडपर्व विदापरेकाले राष्ट्र बैंकले समय थप गरेको हो ।
आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासका लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २१ कात्तिक २०८२ सम्म समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गत असारको अन्त्यमा एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने समय हेरफेर गरेको हो । यसअघि त्रैमासिक वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने प्रावधान रहेकामा राष्ट्र बैंकले यसलाई बढाएर १५ दिन पु¥याएको थियो । अहिले फेरि ७ दिनको समय थपिदिएको हो ।
त्यसैगरी, चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशनका लागि पनि आर्थिक वर्ष समाप्त भएको ३० दिनको समय दिएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्रै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै राष्ट्र बैंकले आ.व. २०८२-८३ को पहिलो त्रैमासिक प्रोदभावी आधारमा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा बैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्न पनि निर्देशन दिएको छ ।
आर्थिकन्यूज