काठमाडौं । जेन–जी आन्दोलनबाट क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ५ करोड ५७ लाख रुपैयाँ संकलन भएको छ। आठ असोजमा औपचारिक रूपमा स्थापना गरिएको उक्त कोषमा क्रमशः रकम जम्मा हुन थालेको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता नम्बर ‘१९६०१००१०२०७०००४’ मार्फत कोषमा सहयोग रकम संकलन गरिरहेको छ। मन्त्रालयका अनुसार निजी क्षेत्र, सर्वसाधारण र सरकारी कर्मचारीबाट स्वतःस्फूर्त रूपमा कोषमा योगदान आउन थालेको छ।
अर्थ मन्त्रालयका अनुसार, कोष स्थापनाको उद्देश्य केवल आर्थिक स्रोत जुटाउने नभई पुनर्निर्माण कार्यमा सर्वपक्षीय सहभागिता सुनिश्चित गर्नु हो। ‘सरकारसँग पैसा अपुग भएर कोष स्थापना गरिएको होइन, जनताको भावनात्मक सहभागिता र पुनर्निर्माणप्रतिको साझा जिम्मेवारीको अनुभूति गराउने हेतुले यो अभियान अघि सारिएको हो,’ मन्त्रालयले बतायाे ।
सरकारले कोषमा सहयोग पुर्याउनका लागि प्रधानमन्त्री तथा मन्त्रालयहरूको वेबसाइटमार्फत क्युआर कोडसहितको सूचना प्रवाह गरिरहेको छ। साथै, उद्योगी तथा व्यवसायीहरूलाई कोषमा योगदान गरेबापत उक्त रकम चालू आर्थिक वर्ष ०८२/८३ को करयोग्य आयबाट कट्टी गर्न सकिने व्यवस्था पनि गरिएको छ।
कोषमा व्यापारिक प्रतिष्ठान र संस्थागत क्षेत्रको योगदान अझै अपेक्षित स्तरमा नपुगे पनि, सरकारले सहयोगका लागि आह्वान जारी राखेको छ। यसबीचमा विभिन्न स्थानीय निकाय, सामाजिक संघसंस्था र केही व्यक्तिहरूबाट पनि रकम जम्मा हुन थालेको मन्त्रालयले जनाएको छ।
आर्थिकन्यूज