यमनको राजधानी सानामा गत सेप्टेम्बरमा भएको एक इजरायली हवाई आक्रमणले ३१ पत्रकार तथा मिडियाकर्मीको ज्यान लिएपछि युद्धग्रस्त क्षेत्रहरूमा पत्रकारिताको जोखिम र सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ। यो घटना पछिल्लो १६ वर्षमा पत्रकारमाथि भएको सबैभन्दा घातक आक्रमण भएको मिडिया स्वतन्त्रता निगरानी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ले जनाएको छ।
पत्रकारहरूलाई ‘अप्रेसनल टार्गेट’ बनाउँदै मिडिया संस्थानमाथि हवाई आक्रमण हुनुले युद्धसम्बन्धी रिपोर्टिङको जोखिम स्तर थप बढेको देखिएको छ। सिपिजेको अनुसार, सन् २००९ मा फिलिपिन्समा भएको मागुइन्डानाओ नरसंहारपछि पत्रकारहरूका लागि यो दोस्रो ठूलो जनधनको क्षति हो।
सेप्टेम्बर १० मा हुथी समूहसँग सम्बद्ध भनिएका तीनवटा मिडिया संस्थानको कार्यालयलाई लक्षित गरी इजरायली लडाकु विमानबाट हवाई आक्रमण गरिएको थियो। मृतकमध्ये अधिकांश ‘२६ सेप्टेम्बर’ र ‘यमन’ नामका पत्रिकासँग आबद्ध थिए। हमला हुँदा छापा संस्करण प्रिन्टिङ गरेर बाहिर निस्कन नपाएका मिडियाकर्मीहरू कार्यालयमै रहेका कारण हताहतीको संख्या उच्च भएको स्थानीय सम्पादक नासेर अल–खादरीले जानकारी दिए।
“उनीहरूसँग कलम र शब्दबाहेक केही थिएन,” खाडरीले भनेका छन्, “उनीहरू निर्दोष पत्रकार थिए, जसलाई क्रूर तरिकाले लक्षित गरियो।”
इजरायली सेनाले भने यो हमला सैन्य उद्देश्यका लागि गरिएको बताउँदै, हुथी जनसम्पर्क विभागलाई ध्वस्त पारिएको दाबी गरेको छ। यद्यपि, अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार, कुनै मिडियाकर्मी प्रत्यक्ष द्वन्द्वमा संलग्न नभएसम्म उनीहरूलाई लक्षित गर्नु गैरकानुनी मानिन्छ।
यस आक्रमणपछि सिपिजेले चेतावनी दिँदै भनेको छ कि यो हमला केवल यमनका पत्रकारहरूविरुद्ध मात्र होइन, मध्यपूर्वका मिडियाकर्मीहरूलाई युद्धको एक पक्ष मान्दै गरिएको व्यापक रणनीतिक सन्देश हो। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका अनुसार, ७ अक्टोबर २०२३ यता मात्रै गाजामा इजरायली हमलामा २४८ पत्रकार मारिएका छन्, जसले पत्रकारिताको स्वतन्त्रता र सुरक्षामा गहिरो असर पारेको छ।
युद्धको प्रत्यक्ष र परोक्ष असर झेल्ने मिडियाकर्मीहरू दिनदिनै प्रेसको हैसियत गुमाउँदै लक्षित आक्रमणमा पर्न थालेका छन्। यसले न केवल रिपोर्टिङको स्वतन्त्रता सङ्कुचित बनाएको छ, बरु सूचनाको निष्पक्षता र युद्धको यथार्थ उजागर गर्ने प्रयासमाथि नै हमला भएको विश्लेषकहरू बताउँछन्।
द गार्जियनबाट
आर्थिकन्यूज