शीर्षकहरू

नेपाल ल्यूब आयलको साधरणसभाबाट २१ प्रतिशत लाभांश पारित

नेपाल ल्यूब आयलको साधरणसभाबाट २१ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ। कम्पनीले शेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

विगत १०-१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ । 

सभालाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने,“विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ । गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ । यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा शेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ।”

गत वर्षजस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएका छन्।

नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ।

गल्फ ब्रान्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो, जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन्। विभिन्न अटोमोबाइल र मेसिनरीका आवश्यकतालाई समेट्ने उत्पादन विविधताका कारण गल्फ ब्रान्ड नेपाली बजारमा प्रतिष्ठित र विश्वसनीय नामको रूपमा स्थापित भएको छ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ८४.८६% प्रतिशत सहभागी उपस्थित रहेको थियो।