शीर्षकहरू

साइबर अपराधमा संलग्न १९ नेपालीलाई ओमानले डिपोर्ट गर्‍यो

साइबर अपराधमा संलग्न १९ नेपालीलाई ओमानले डिपोर्ट गर्‍यो

काठमाडौं  । ओमान प्रहरीले साइबर ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका १९ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूमध्ये ११ जनालाई बिहीबार नेपाल फर्काइएको छ भने बाँकीलाई क्रमशः सोमबार र पछि अन्य उडानमार्फत पठाउने तयारी भइरहेको छ।

गत मार्च १० मा रॉयल ओमान प्रहरीले शोहर शहरमा ठगी नेटवर्कमाथि छापा मार्दा २० जना नेपालीसहित २५७ जना विदेशी नागरिक पक्राउ परेका थिए। उनीहरूमध्ये अधिकांशलाई ओमानको स्थानीय अदालतले ६ महिनाको जेल सजाय र जरिवाना सुनाएको थियो।

अनुसन्धानका क्रममा ती नेपालीलाई रोजगारीको प्रलोभनमा दुबईमार्फत ओमान ल्याई पासपोर्ट जफत गर्दै विभिन्न डिजिटल माध्यम प्रयोग गरी अनलाइन ठगीमा प्रयोग गरिएको पुष्टि भएको छ। उनीहरूलाई नक्कली बैंक वेबसाइट, रोम्यान्टिक च्याट एप र फर्जी क्रिप्टो प्लेटफर्ममार्फत विदेशीलाई ठग्न तालिम दिइएको थियो।

मस्कटस्थित नेपाली दूतावास र एनआरएनए ओमानको सहकार्यमा कैद अवधि सकिनासाथ उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइएको हो। शोहरस्थित जेल राजधानी मस्कटदेखि ३०० किलोमिटर टाढा रहेको र उनीहरूको परिवारसँग सम्पर्क टुटेको अवस्थामा एनआरएनए प्रतिनिधिहरूले फोन कार्ड पुर्‍याएर नियमित संवाद सुनिश्चित गरेका थिए।

एनआरएनए ओमानका अनुसार दुबईबाट भिजिट भिसामा बोलाई ओमानमा रहेको ठगी कम्पनीमा जबरजस्ती संलग्न गराइएको पुष्टि गर्दै घटनालाई मानव तस्करीसँग जोडिएको संकेत पनि दिएका छन्।