वासिङ्टन डीसी, (अमेरिका) । अमेरिकाभर शनिबार आयोजित ट्रम्पविरोधी प्रदर्शनसँगै डिजिटल निगरानी प्रविधिको प्रयोगबारे सहभागीहरूमा गम्भीर चिन्ता देखिएको छ। ‘नो किङ्स’ नारामा आयोजित प्रदर्शन अमेरिकाका ५० वटै राज्यका प्रमुख सहरहरूमा सम्पन्न भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार देशभर २६ सयभन्दा बढी स्थानमा प्रदर्शन र ¥यालीहरू भएका छन्। न्यूयोर्कमा मात्रै एक लाखभन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए। प्रदर्शनहरू शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि राजनीतिक रूपमा संवेदनशील मानिएको छ।
प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संविधानभन्दा माथि उभिने प्रयास गरेको आरोप लगाएका छन्। ट्रम्प प्रशासनको आप्रवासी नीति, संघीय सहायता कटौती, र राज्यहरूमा संघीय सुरक्षा बलको परिचालनजस्ता नीतिहरूको विरोधमा प्रदर्शन गरिएको हो।
यसबीच, प्रदर्शनमा सहभागीहरू संघीय सरकारबाट सम्भावित निगरानी प्रविधिको प्रयोगबारे चिन्तित देखिएका छन्। उनीहरूले फेसियल रिकग्निसन, मोबाइल फोन ह्याकिङ, र ड्रोनमार्फत निगरानी भइरहेको आशंका व्यक्त गरेका छन्। इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनका थोरीन क्लोसोव्स्कीले ठूला सहरहरूमा यस्ता निगरानी बढी हुने र स्थिति अघिल्लो प्रशासनको तुलनामा संवेदनशील बनेको बताएका छन्।
ट्रम्प समर्थक र रिपब्लिकन नेताहरूले भने प्रदर्शनकारीहरूलाई वामपन्थी उत्तेजक र अराजकतावादी भन्दै आलोचना गरेका छन्। आयोजकहरूका अनुसार प्रदर्शन लोकतन्त्र र नागरिक स्वतन्त्रताको संरक्षणका लागि गरिएको हो।
आर्थिकन्यूज