शीर्षकहरू

२१ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, जेनजी आन्दोलनको प्रभाव कि रोकिएको कित्ताकाटको ?

२१ प्रतिशतले घट्यो घरजग्गाको कारोबार, जेनजी आन्दोलनको प्रभाव कि रोकिएको कित्ताकाटको ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनामा घरजग्गाको कारोबार ह्वात्तै घटेको छ । कारोबारसँगै कित्ताकाट पनि घट्दा राजस्वमा प्रभाव परेको देखिएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार घट्दा करिब ३३ करोड राजस्व गुमेको छ । गत आर्थिक वर्षको असोज महिना यस क्षेत्रबाट ३ अर्ब ८ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । तर, चालु आवको सोही अवधिमा तुलनात्मक रुपमा १०.४७ प्रतिशत राजस्व घटेको छ । यस अवधिमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

तुलनात्मक रुपमा घरजग्गाको कारोबार २१ प्रतिशतले घटेको छ । गत आवको असोज महिनामा १ लाख ८४८ पटक कारोबार हुँदा ३० हजार ५३७ पटक लिखत पारित भएको थियो । गत असोजमा भने ७९ हजार ७३६ पटक कारोबार हुँदा २३ हजार ३५३ पटक लिखत पारित भएको छ ।

त्यसैगरी, गत आवको असोजमा ३२ हजार ५७४ वटा कित्ता कित्ताकाट गरेर ७२ हजार ९५८ कित्तामा टुक्‌र्याइएको थियो । गत असोज महिनामा भने १६ हजार ८६० वटा कित्ता टुक्र्याएर ३५ हजार ३४९ वटा कित्तामा विभाजन गरिएको छ ।

३ महिनादेखि रोकियो कित्ताकाट

विगत ३ महिनादेखि घरजग्गाको कित्ताकाट रोकिएको छ । सरकारले गत वर्ष कित्ताकाट खुलाउँदा एक वर्षका लागि भनेर खुलाएको थियो । त्यसको अन्तिम मिति गत असार मसान्तसम्म थियो । साउन १ गतेदेखि कित्ताकाट स्वत: रोकिएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए । 

तर, कित्ताकाट रोकिएपनि विभागको तथ्यांकमा कित्ताकाट भएको देखिन्छ । यसको कारण के हो भन्ने प्रश्नको जवाफ दिइँदै उनले भने, 'वर्गीकरण भएका क्षेत्रको कित्ताकाट गर्न पाइन्छ । यसैगरी, अदालतका आदेश भएका स्थानको पनि कित्ताकाट हुन्छ । सोही क्षेत्रको तथ्यांक हो ।’

के भन्छन् जानकार ?

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेका अनुसार कित्ताकाट रोकिएका कारण घरजग्गाको कारोबार घटेको हो । उनले भने, 'गत साउन देखि कित्ताकाट रोकिएको छ । त्यस कारण कारोबारसँगै राजस्व पनि घटेको हो ।’

असार मसान्तसम्म भएको कित्ताकाटको जग्गा नै अहिले बेच-विखन भइरहेको उनको भनाई छ । उनले भने, 'असार मसान्तसम्म कित्ताकाट भएको जग्गा नै हो अहिलेसम्म बिक्री भएको छ । अब, त्यो बेला कित्ताकाट भएको जमिन बिक्री भएर सकिँदै जाँदा कारोबार सुस्त भएको हो ।’

कित्ताकाट तत्काल नखुलाए सरकारले ठुलो राजस्व गुमाउनुका साथै यस क्षेत्रका व्यवसायी पलायन हुनुपर्ने स्थिति श्रृजना हुने उनको दाबी छ । जेनजीको आन्दोलनको असर यस क्षेत्रमा कस्तो रह्यो भन्ने प्रश्नमा उनको जवाफ, 'यस क्षेत्रमा आन्दोलनको प्रभाव खासै पर्दैन ।’