शीर्षकहरू

अमेरिका र अस्ट्रेलियाबीचको त्यो सम्झौताले घट्न थाल्यो सुनको भाउ, अझै ५० हजार घट्ने अनुमान

अमेरिका र अस्ट्रेलियाबीचको त्यो सम्झौताले घट्न थाल्यो सुनको भाउ, अझै ५० हजार घट्ने अनुमान

काठमाडौं । दशैँ अघिदेखि लगातार नयाँ रेकर्ड राख्दै उकालो लागेको सुनको भाउ तिहार पछि भने फेरि घट्न थालेको छ । गत अगस्ट २५ तारिख १ लाख ९७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसको करिब २ महिनामा ६० हजार रुपैयाँ भन्दा धेरैले बढेको थियो 

अगस्ट २५ देखि अक्टोबर १७ तारिखसम्म ६० हजार ८ सय रूपैयाँले वृद्धि भएर सुनको भाउ २ लाख ५८ हजार पुग्यो, जुन नेपालको ऐतिहासिक मूल्य हो । तिब्रगतिमा वृद्धि भएको सुनको भाउ तिहार पछि भने सोही अनुसार घट्न थालेको हो । 

तिहार पछिको ३ दिनमा तोलाको २१ हजार रूपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज मंगलबार तोलको २ लाख ३७ हजार रुपैयाँमा ओर्लिएको छ । 

यसरी एक्कासी सुनको मूल्य घटनुको पछाडीको कारण भनेको अमेरिका र अस्ट्रेलियाबीचको एक महत्वपूर्ण सम्झौता हो । गत साता अमेरिका र अस्ट्रेलियाबीच व्हाइट हाउसमा रेर अर्थस् र कृटिकल मिनरल्स (पृथ्वीका दुर्लभ तत्त्व र दुर्लभ खनिज ) आपूर्तिबारे सम्झौता भयो । सो सम्झौतामा पृथ्वीका दुर्लभ तत्त्व र दुर्लभ खनिज पदार्थहरु अस्ट्रेलियाबाट अमेरिकाले आयात गर्ने उल्लेख छ । उक्त तत्त्व मिसायल लगायतका ठूला हतियार बनाउन प्रयोग गरिन्छ । 

पहिला अमेरिकाले यस्ता तत्त्वहरु चीनबाट आयात गर्दथ्यो । अमेरिकाले चीनको बस्तुमा ट्यारिफ वृद्धि गरेपछि यस किसिमका खनिज पदार्थ अमेरिकालाई नदिने संकेत चीनले गर्दै आएको थियो । उक्त पदार्थहरु अमेरिकालाई आपूर्ति नगरेको खण्डमा अमेरिकाको उद्योगमा ठुलो असर पर्ने निश्चित थियो । 

सोही थ्रेडलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियासँग सहमति गर्न पुगेका हुन् । यस सहमति अनुसार अस्ट्रेलियाले अमेरिकालाई ति खनिज पदार्थ उपलब्ध गराउने छ ।

अस्ट्रेलियाले अमेरिकालाई दुर्लभ खनिज आपूर्ति गरिदिँदा हाल देखिएको ट्रेड वार रोकिने आशामा मानिसहरुले अन्य क्षेत्रमा लगानी गर्न थालेको महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर बज्राचार्य बताउँछन् । उनका अनुसार चीनले दुर्लभ खनिज आपूर्तिमा अघोषित रुपमा रोक लगाउँदा अमेरिका र चीन लगायत देशबीच ट्रेड वार चलेको थियो । जसले ग्लोबल अर्थतन्त्रमा असर पुगेको थियो । अब, अमेरिकाले सो खनिज आपूर्ति सहज रुपमा पाएको अवस्थामा ट्रेड वारको अन्त्य हुने विश्वासमा मानिसहरूले सुनको लगानी अन्यत्र डाइभर्ट गर्न थालेको बज्राचार्यको विश्लेषण छ ।

'सो सम्झौता पछि विश्वका मानिसहरूले सुनको लगानी अन्यत्र डाइभर्ट गर्न थाले, 'उनी भन्छन्, 'अमेरिकामा मासिहरुले सुनको पैसा शेयर बजारमा लगानी गर्न थालेको देखिन्छ । जसले त्यहाँको बजार वृद्धि भइरहेको छ ।’

प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार पछिल्लो समय राष्ट्रपति ट्रम्प एसियाली देशहरूको भ्रमण गरिरहेका छन् । यसले गर्दा थप शान्तिको माहोल बन्ने, अमेरिकाले विभिन्न देशका लागि वृद्धि गरेको ट्यारिफ रेट घटाउने मानसिहरुले अनुमान गरेका कारण अन्य क्षेत्रमा लगानी वृद्धि भएको उनको भनाई छ । यसले गर्दा सुनको भाउ निरन्तर घटिरहेको हो ।

अहिलेकै अवस्था रहिरहेको खण्डमा सुनको भाउ अझै घट्ने उनको अनुमान छ । यथास्थितिमा अझै ५० हजारसम्म सुनको भाउ घट्ने उनको भनाई छ । उनले भने, 'सुनको मूल्य प्रभावित हुनुको धेरै कारणहरू हुन्छन् । तर, पछिल्लो सम्झौताका कारण नै अहिले घटेको हो । परिस्थिति यथास्थितिमा रहेको खण्डमा अझै ३० देखि ५० हजारसम्म मूल्य घट्न सक्छ ।’