शीर्षकहरू

उद्योग बन्द र मजदुर आन्दोलन: जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

भैरहवा । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा ठूला उद्योगको विद्युत् काटेपछि उद्योगहरू पूर्ण रूपमा ठप्प बनेका छन् । उद्योग बन्द भएपछि करिब २५ हजार मजदुर कामविहीन बन्दा दैनिक जीवनयापनमै संकट देखिन थालेको मजदुरहरूको गुनासो छ ।

विद्युत् कटौतीको विरोधमा मजदुरहरूले बिहीबार बिहान भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि एक घण्टा धर्ना तथा आन्दोलन गरे । आन्दोलनको क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतमले मजदुरहरूको हकहितमा जोड दिँदै सम्बोधन गरे । उनले लामो समयदेखि महसुल विवादका कारण मजदुरलाई ठूलो मूल्य चुकाउन बाध्य बनाएको भन्दै सरकार र प्राधिकरणलाई तत्काल समाधानमा उभिन चेतावनी दिए । उनकाे भनाइमा उपस्थित मजदुरहरूले तालि बजाएर समर्थन जनाएका थिए ।

तर भाषणकै बीचमा गौतम अचानक बेहोस भई ढले । उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल लगियाे । अस्पतालमा पुग्नासाथ उनलाई डाक्टरहरुले मृत घाेषणा गरे । उनकाे मृत्युबाट आन्दोलनरत मजदुर स्तब्ध र आक्रोशित बनेका छन् ।

रुपन्देहीका २१ वटा उद्योग र नेपाल विद्युत् प्राधिकरणबीच २०७७ सालदेखि चल्दै आएको महसुल विवाद हाल पुनः चर्किएको हो । उद्योगहरूले आफूहरूले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको प्राधिकरणसँग स्पष्ट प्रमाण नपाएको भन्दै प्रिमियम महसुल बुझाउन मानिरहेका छैनन् । तर प्राधिकरणले महसुल नबुझाएसम्म विद्युत् आपूर्ति नखोल्ने अडान लिएको छ ।

विद्युत् कटौतीका कारण पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, घराना फुड्स, गोयनका फुड्स, भलबारी चामल मिललगायत उद्योग बन्द भएपछि करोडौँको आर्थिक क्षति भएको उद्योगीहरूको भनाइ छ । तत्काल सहमति नभए आन्दोलन चर्कने चेतावनी मजदुर र उद्योग दुवैबाट दिइएको छ ।