काठमाडौं । प्रतिकूल मौसम तथा कम भिजिबिलिटीका कारण ३ वटा विमानस्थल बन्द भएका छन् । अबिरल वर्षाले मौसम प्रतिकूल हुँदा पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका हुन् ।
हिजो बिहिबारदेखि भएको वर्षाले हवाई उडानमा प्रभाव पारेको छ । जसका कारण हिजो मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि विभिन्न देशबाट उडेका आधा दर्जन बढी हवाई जहाजहरूलाई डाइभर्ट गर्नु परेको थियो । आज पनि मौसम खराब हुँदा ३ विमानस्थल बन्द भएका हुन् । तर, भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ ।
आज विभिन्न एयरलाइन्स कम्पनीहरुले उडान तालिका संशोधन गरेका छन् । हवाई उडान प्रभावित हुँदा यात्रुहरू मर्कामा परेका छन् ।
बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्दा नेपालको मध्य भागदेखि पूर्वी भागसम्म वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ ।
आर्थिकन्यूज