काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले वैदेशिक रोजगारीमा गएका नागरिकका सन्तानका लागि छात्रवृत्ति आवेदन माग गरेको छ। महानगरले १४ पुस २०८२ सम्म आवेदन दिने समय तोकेको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले ३ असोज २०८२ मा सार्वजनिक गरेको सूचनाअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका अभिभावकका सन्तान, जसका अभिभावकको मृत्यु, अशक्तता वा बेपत्ता भएको अवस्थामा रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।
यस योजनाअनुसार काठमाडौं महानगरको रोजगार शाखाबाट सम्बन्धित विद्यालयमार्फत विद्यार्थीहरूले आवेदन पेस गर्न सक्ने व्यवस्था गरिएको छ। छात्रवृत्ति सन्चालन कार्यविधि २०८० अनुसार विद्यालयहरूले फारम संकलन गरी महानगरमा पठाउने व्यवस्था छ।
आवेदनका लागि आवश्यक कागजातमा विद्यालयको सिफारिस, विद्यार्थीको अध्ययन प्रमाणपत्र, अभिभावकको वैदेशिक रोजगार सम्बन्धी कागजात, बैंक खाता प्रमाण र नागरिकता वा जन्मदर्ता प्रतिलिपि मागिएको छ।
महानगरले चालु शैक्षिक सत्रमा पहिलो पटक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीका साथै विगतमा छात्रवृत्ति पाएका विद्यार्थीलाई पनि पुनः आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

आर्थिकन्यूज