शीर्षकहरू

कर्जाको माग बढेन, तरलता व्यस्थापनका लागि धमाधम ६ महिनाका लागी निक्षेप संकलन गर्दै राष्ट्र बैंक

कर्जाको माग बढेन, तरलता व्यस्थापनका लागि धमाधम ६ महिनाका लागी निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि  पछिल्लो समयमा बजारबाट लामो अवधिका लागि निक्षेप उठाउन थालेको छ । बैंक, वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्राका कर्जा प्रवाह हुने स्थिति नदेखेपछि राष्ट्र बैंकले बजारबाट धमाधम ६ महिनाका लागि निक्षेप उठाउन थालेको हो।

विगत २ वर्षदेखि बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा लगानीयोग्य पूँजी (तरलता) बैंक, वित्तीय संस्थाहरूमा थुप्रिरहेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले छोटो छोटो अवधिको निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले एकैपटक ६ महिनासम्मका लागि निक्षेप उठाउन थालेको छ। 

राष्ट्र बैंकले कात्तिक १९ गते मंगलबार तेस्रोपटक १७५ दिने निक्षेप संकलन गर्न लागेको हो । गत बुधबार कात्तिक १२ गते केन्द्रीय बैंकले १७५ दिनका लागि ४० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेको थियो । त्यस्तै कात्तिक १६ गते आइतबार पनि १७५ दिन अवधिको लागि ४० अर्ब खिचेको केन्द्रीय बैंकले आज फेरि १७५ दिनकै लागि थप ५० अर्ब तरलता प्रशोचन गर्ने भएको हो । यसअघि केन्द्रीय बैंकले ४ देखि ५६ दिन अवधिसम्मको निक्षेप तान्दै आएको थियो।

जेनजी आन्दोलनपछि निजीक्षेत्रका कम्पनीहरूमा व्यापक तोडफोड र आगजनी भएको र दोषीमाथि कारबाही नभएको भन्दै निजीक्षेत्रले गुनासो गरिरहँदा निजीक्षेत्रले कर्जाको माग नगर्ने स्थिति आएपछि राष्ट्र बैंकले लामो अवधिसम्म बजारको तरलता आफैले लिने बाटो लिएको हो ।

राष्ट्र बैंकले चालु आवमा २४ पटक निक्षेप संकलन उपकरण जारी ८ खर्ब ८४ अर्ब ६५ करोड निक्षेप संकलन गरिसकेको छ । जसमध्ये १ खर्ब ७० अर्ब परिपक्क हुन बाँकी छ । यस्तै स्थायी निक्षेप सुविधा समेतको गरेर केन्द्रीय बैंकमा अधिक तरलताको ८ खर्ब ९ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ ।