शीर्षकहरू

२ खर्ब ८६ अर्बको लागतमा ६७० मेगावाटको दूधकोशी आयोजनाको निर्माण प्रक्रिया सुरु

२ खर्ब ८६ अर्बको लागतमा ६७० मेगावाटको दूधकोशी आयोजनाको निर्माण प्रक्रिया सुरु

सुनसरी । खोटाङ र ओखलढुंगाका बासिन्दाको प्रत्यक्ष चासो रहेको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरेको छ ।

विद्युत् विकास विभागले हालै ३५ दिने सूचना जारी गर्दै आयोजनाको विद्युत् उत्पादन अनुमति दिने औपचारिक प्रक्रिया सुरु गरेको जनाएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये प्रमुख मानिएको दूधकोशी परियोजना नेपालका लागि ऊर्जा आत्मनिर्भरता र आर्थिक रूपान्तरणको दिशामा एक ऐतिहासिक उपलब्धि मानिने विश्वास गरिएको छ ।

यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेका छन् । विद्युत् विभागका प्रवक्ता बद्री कुइँकेलले यी प्रतिवेदनका आधारमा विभागले ३५ दिने सूचना प्रकाशित गर्दै सरोकारवालाको राय–सुझाव र उजुरी मागेको जानकारी दिए । उनका अनुसार ३५ दिनभित्र कुनै उजुरी वा सुझाव नआएमा उत्पादन अनुमति दिने तयारी छ, जसपछि कम्पनीले जग्गा अधिग्रहण, मुआब्जा वितरण र पुनस्र्थापनाको कार्य सुरु गर्न सक्नेछ ।

विद्युत् विभागले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेपछि कम्पनीले लगानी, विद्युत् खरिद सम्झौता (पीपीए), जग्गा अधिग्रहण, पुनर्बास, मुआब्जा वितरणजस्ता प्रक्रियाहरू अघि बढाउने तयारी गरेको जनाएको छ ।

दूधकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत वसन्तध्वज श्रेष्ठले विद्युत् उत्पादनको अनुमति प्राप्त हुनासाथ परियोजनाको भौतिक निर्माण सुरु गरिने बताएका छन् । उनले यो आयोजना नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको ऐतिहासिक यात्रा हुने उल्लेख गर्दै परियोजनालाई दिगो, पारदर्शी र स्थानीयमैत्री ढंगले अघि बढाउने संकल्प व्यक्त गरेका छन् । खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको सिमानामा निर्माण हुने यो आयोजनाको अनुमानित लागत करिब २ खर्ब ८६ अर्ब रुपैयाँ रहनेछ ।

परियोजनाको वित्तीय संरचनाका लागि एसियाली विकास बैंक (एडीबी) लगायत विकास साझेदारहरूसँग छलफल भइरहेको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार एडीबीले करिब ५५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारीमा रहेको छ । विद्युत् योजनाअन्तर्गत लामीडाँडाको रभुवा बजारमा २२० मिटर अग्लो बाँध निर्माण गरिनेछ, जसले दूधकोशी नदीको प्रवाह रोक्नेछ र १३.३ किलोमिटर लामो हेडरेस सुरुङमार्फत पानी धितुङमा पठाइनेछ ।

त्यहाँ ६०० र ७० मेगावाट क्षमताका दुई छुट्टाछुट्टै विद्युतगृह स्थापना गरिने योजना छ । बाँध निर्माणपछि करिब १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा कृत्रिम जलाशय बन्नेछ, जसका कारण १९८० हेक्टर जमिन डुबानमा पर्ने र १८६ घरपरिवार विस्थापित हुने बताइएको छ ।

लामीडाँडाका स्थानीय उत्सव राई ले दशकौंदेखि अँध्यारोमा रहेको गाउँमा दूधकोशीले अब उज्यालो र आशा ल्याउने भन्दै उत्साह व्यक्त गरेका छन्। यो विद्युत् आयोजना सञ्चालनमा आएपछि देशको कुल विद्युत् उत्पादन क्षमतामा १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।